सुर्खेत, भेरिगङ्गा नगरपालिकाले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन तथा किसानको पहिचान स्थापित गर्ने उद्देश्यले ‘शुद्ध प्राङ्गारिक कृषि तथा पोषण मेला २०८३’ आयोजना गर्ने भएको छ। मेला आगामी जेठ ९ गते वीरेन्द्रनगरमा सञ्चालन हुने जनाइएको छ।

‘भेरीगंगाको शान : प्राङ्गारिक कृषि र उद्यमी किसान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको मेलामा स्थानीय स्तरमा उत्पादन भएका प्राङ्गारिक तरकारी, फलफूल, अन्नबाली तथा विभिन्न परिकारहरूको प्रदर्शनी गरिनेछ। साथै स्थानीय बीउबिजन, प्रविधि, मौरीपालन र च्याउ खेतीसम्बन्धी विशेष स्टलहरू पनि रहनेछन्।

मेलामा उत्कृष्ट स्टल छनोट, पोषण परिकार प्रतियोगिता तथा कृषि र पोषणसम्बन्धी हाजिरीजवाफ कार्यक्रम समेत सञ्चालन गरिने आयोजकले जनाएको छ। कृषि वैज्ञानिक र विज्ञहरूसँग किसानले प्रत्यक्ष संवाद गर्न सक्ने व्यवस्था पनि गरिनेछ।

त्यस्तै, किसान र व्यापारीबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न ‘किसान–व्यापारी भेटघाट’ कार्यक्रम राखिएको छ भने सांस्कृतिक कार्यक्रम र पोषण शिक्षा कुनामार्फत जनचेतना फैलाइने जनाइएको छ।

मेलाले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्नुका साथै विषादी प्रयोग न्यूनीकरण र प्राङ्गारिक खेतीप्रति जनचासो बढाउने अपेक्षा गरिएको मेला व्यवस्थापन समितिका संयोजक सुरज विसीले बताए ।


कृषि रैबार । २४ बैशाख २०८३, बिहीबार