बडीमालिका डोली यात्रा–२०८३ : भैरवस्थानबाट प्राचीन धार्मिक पदमार्ग पुनर्जीवित गर्दै यात्रा सुरु हुने

सुर्खेत, असार २६। भैरव देवता धार्मिक समाज, वीरेन्द्रनगर–४, सुर्खेतले बडीमालिका डोली यात्रा–२०८३ आयोजना गर्ने भएको छ।


समाजका अनुसार यस वर्षको यात्रा सुर्खेतको भैरवस्थानबाट सुरु भई दैलेख, कालिकोट हुँदै बाजुराको प्रसिद्ध बडीमालिका मन्दिरसम्म पुग्नेछ। यात्राको मुख्य उद्देश्य धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै ऐतिहासिक पदमार्गलाई पुनर्जीवित गर्दै सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्नु रहेको छ।


आयोजकले जारी गरेको जानकारीमा परापूर्वकालदेखि श्रावणी पूर्णिमाको अवसरमा बडीमालिका दर्शन गर्ने परम्परा रहँदै आएको उल्लेख गरिएको छ। भौगोलिक विकटता र समयसँगै ओझेलमा परेका पुराना पदमार्गलाई पुनः सञ्चालनमा ल्याउने अभियानस्वरूप यस वर्ष डोली यात्रालाई विशेष रूपमा अघि बढाइने जनाइएको छ।
प्रकाशित यात्रा तालिकाअनुसार डोली यात्रा भाद्र ५ गते सुर्खेतबाट प्रस्थान गरी दैलेख, कालिकोटको रास्कोट, मल्यागिरी पाटन, क्षेत्रडी धाम, कैलाशगाड, त्रिवेणी हुँदै भाद्र १० गते बडीमालिका मन्दिर पुग्नेछ। भाद्र ११ गते सरकारी पूजा सम्पन्न भएपछि टोली पुनः त्रिवेणीतर्फ फर्कने र जनैपूर्णिमाको अवसरमा धार्मिक कार्यक्रम सम्पन्न गर्ने योजना रहेको छ।


आयोजकले श्रद्धालु भक्तजनलाई यात्रा तथा धार्मिक कार्यक्रममा सहभागी भई धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउन आग्रह गरेको छ। बडीमालिका यात्रा नेपालका महत्वपूर्ण धार्मिक यात्रामध्ये एक मानिन्छ र प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा हजारौं भक्तजन सहभागी हुने गरेका छन्।
भैरव देवता धार्मिक समाजले असार २६ गते आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षता रहेको थियो भने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम र डोली यात्राको बारेमा मुख्य सल्लाहकार तिलक उपाध्यायले जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया