सुर्खेतमा उज्यालो नेपाल पार्टीको पत्रकार सम्मेलन : संगठन विस्तार र जनमुखी एजेण्डामा जोड

सुर्खेत । उज्यालो नेपाल पार्टीले कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमको पूर्व सन्ध्यामा सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गरेको छ। कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले पार्टीको वर्तमान अवस्था, आगामी योजना र समसामयिक विषयमा धारणा राखेका छन्।


अध्यक्ष घिसिङले हालै फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ‘चिम’ र समानुपातिकतर्फ ‘बासुरी’ चुनाव चिन्ह भएका कारण अपेक्षित मत परिणाम हासिल गर्न कठिन भएको बताए। पार्टी स्थापना भएको छोटो समयमै निर्वाचन सामना गर्नुपर्दा समय व्यवस्थापन र चुनाव केन्द्रित गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो। साथै, केही नेता–कार्यकर्ता चुनावकै मुखमा अन्य दलमा गएकोले पनि परिणाममा असर परेको उनले उल्लेख गरे।


उनले अब डिजिटल मिडियाको प्रयोग गर्दै आधुनिक शैलीमा प्रदेशदेखि वडा तहसम्म संगठन विस्तार गर्ने उद्देश्यसहित कर्णाली प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई प्रमुख शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको पनि उनले बताए।


सरकारको कामकारबाहीबारे बोल्दै घिसिङले जनतामुखी काम गरे समर्थन गर्ने र गलत कदम चालिए सडकबाटै खबरदारी गर्ने चेतावनी दिए। वर्तमान सरकारका धेरै सदस्य नयाँ भएकाले परिपक्वता देखाउँदै जनहितमा काम गर्नुपर्ने उनको सुझाव थियो।
विश्वव्यापी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको सन्दर्भमा उनले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सञ्चित कोषबाट अनुदान दिएर जनतालाई राहत दिनुपर्ने माग गरे। पेट्रोलियम मूल्यवृद्धिले कर्णाली प्रदेशमा विशेषगरी यातायात क्षेत्रमा प्रत्यक्ष असर पार्दै समग्र जनजीवन प्रभावित बनाएको उनले बताए।


कर्णालीप्रति पार्टी विशेष संवेदनशील रहेको उल्लेख गर्दै घिसिङले आफू नेपाल विद्युत प्राधिकरणमा रहँदा र मन्त्री हुँदा कर्णालीको विद्युत विकासलाई प्राथमिकता दिएको स्मरण गरे। जनताको समर्थनका कारण लामो समयसम्म प्राधिकरणमा काम गर्न पाएको भन्दै उनले विगतका सरकारप्रति आभार व्यक्त गरे।
उनले विगतका कामहरूलाई सफल भएको दाबी गर्दै हालको निर्वाचन परिणामलाई सिकाइका रूपमा लिएको र जनताको अपेक्षा अनुसार काम गर्दै आगामी चुनावमा सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया