सुर्खेत घटनाबारे निष्पक्ष अनुसन्धानको माग गर्दै परिवारद्वारा आह्वान

सुर्खेत,  सुर्खेतको वीरेन्द्रनगरमा फागुन २३ गते घटेको एक बालिकामाथिको बलात्कारपछि हत्या भएको घटनाबारे पीडित परिवारले निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

परिवारका सदस्यहरूले सार्वजनिक अपिल जारी गर्दै घटनाको सत्यतथ्य वैज्ञानिक अनुसन्धान, उपलब्ध प्रमाण र तथ्यका आधारमा उजागर गर्न आग्रह गरेका छन्। उनीहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरेको अनुसन्धानप्रति विश्वास व्यक्त गर्दै दोषीलाई कानुन अनुसार सजाय दिनुपर्ने बताएका छन्।
साथै, घटनालाई लिएर सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट भ्रामक आरोप र मनगढन्ते प्रचार नगर्न पनि आग्रह गरिएको छ। यस्ता गतिविधिले न्यायिक प्रक्रियामा असर पर्ने र पीडित परिवारलाई थप पीडा हुने परिवारको भनाइ छ।
परिवारले निष्पक्ष न्यायको पक्षमा साथ दिन र दबाबमुक्त वातावरणमा अनुसन्धान अघि बढाउन सहयोग गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्। साथै, उनीहरूले आज बिहान १० बजे वीरेन्द्रनगरको घण्टाघर चोकमा उपस्थित भई समर्थन जनाउन पनि अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया