इनिशा प्रकरणका अभियुक्त ३ बालकको परिवारद्वारा सुर्खेतमा प्रदर्शन

सुर्खेतको इनिषा बि.क. मृत्यु प्रकरणमा जोडिएका ३ जना आरोपित किशोरका परिवारले सोमबार वीरेन्द्रनगरमा विरोध र्‍याली सहित पत्रकार सम्मेलन गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र निर्दोषलाई फसाउने प्रपञ्च बन्द गर्न अपिल गरेका छन्।

२०८२ चैत्र १६ गते जारी गरिएको प्रेस विज्ञप्तिमा परिवारले प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र फरेन्सिक विशेषज्ञसहितको टोलीले गरेको सुक्ष्म तथा वैज्ञानिक अनुसन्धानलाई लत्याउँदै जिल्ला सरकारी वकिलको कार्यालयले मनोगत ढंगले अदालतमा मुद्दा दर्ता गरेको गम्भीर आरोप लगाएका छन्।

सम्पूर्ण वैज्ञानिक प्रमाण, सिसिटिभी फुटेज र कल डिटेलले ती बालकहरू निर्दोष रहेको प्रष्ट पारे पनि बाहिरी दबाब र आर्थिक चलखेलका कारण न्याय प्रणालीलाई नै प्रभावमा पार्ने काम भएको उनीहरूको दाबी छ।

कक्षा १० र ११ मा अध्ययनरत ती किशोरहरूको भविष्यमाथि खेलबाड गर्दै उनीहरूलाई जबर्जस्ती फसाइएको भन्दै परिवारले कडा आपत्ति जनाउँदै निष्पक्ष न्यायको माग गरेका छन्।

विज्ञप्तिमा दाबी गरिएको घटना विवरण अनुसार फाल्गुन २३ गते बिहान ५ बजेर ५८ मिनेटमा पीडित र मुख्य आरोपित भनिएका व्यक्ति सँगै सामुदायिक वनतर्फ गएको सिसिटिभी फुटेजबाट प्रष्ट हुन्छ। त्यसपछि बिहान ८ बजेर ३२ मिनेटमा पीडितले आफ्ना साथी (आरोपित मध्येका एक बालक) लाई फोन गरी सहयोग मागेको र ती बालकले आफूसँग स्कुटर नभएकाले तत्काल आउन नसक्ने जवाफ दिएको कल रेकर्ड र सिसिटिभी प्रमाण अनुसन्धानमा सुरक्षित रहेको परिवारले बताएका छन्।

पोस्टमार्टम रिपोर्टले पीडितको मृत्यु बिहान ९:३० बजे नै भइसकेको देखाएको र किशोरहरू त्यसपछि मात्रै अत्तालिँदै सहयोगका लागि घटनास्थलतर्फ गएको दाबी विज्ञप्तिमा गरिएको छ। घटनास्थल पुगेर उनीहरूले नै स्थानीय र प्रहरीलाई खबर गरेको अवस्थामा उल्टै सामूहिक बलात्कारको आरोप लगाउनु न्यायसंगत नभएको र सरकारी फरेन्सिक ल्याबको रिपोर्टले समेत सामूहिक बलात्कार नभएको पुष्टि गरिसकेको उनीहरूले प्रस्ट पारेका छन् ।

यसका साथै आरोपितका परिवारले घटनालाई अतिरञ्जित गरी समाजमा जातीय र साम्प्रदायिक विद्वेष फैलाउने युट्युबर तथा कथित सामाजिक अभियन्ताहरूमाथि पनि कानुनी कारबाहीको माग गरेका छन्। केही अराजक तत्वले आफ्नो व्यक्तिगत स्वार्थ र टीआरपी बढाउने उद्देश्यले सामाजिक सञ्जालको दुरुपयोग गरी निर्दोष बालकहरू र उनीहरूका परिवारको चरित्र हत्या गरिरहेको भन्दै उनीहरूले दुखेसो पोखेका छन्।

दोषीले कानुनबमोजिम कडाभन्दा कडा सजाय पाउनुपर्ने मान्यतामा आफूहरू अडिग रहेको तर बिना प्रमाण कसैलाई पनि अपराधी करार गर्ने अधिकार कसैलाई नभएको उनीहरूको भनाइ छ। अन्तमा परिवारले वर्तमान सरकार, माननीय गृहमन्त्री र सरोकारवाला सम्पूर्ण निकायको ध्यानाकर्षण गराउँदै न्यायिक प्रक्रियामा सहयोग गर्न र निर्दोष बालकहरूको रिहाइको माग गर्दै न्यायको ढोका ढकढकाएका छन्।

#krishiraibar #everyoneシ゚viralシviralシfypシ゚viralシalシ #hilightseveryonefollowers #everyonehighlights #NewsUpdate #newsfeed #news

तपाईको प्रतिक्रिया