सुर्खेत । सुर्खेतमा पछिल्लो समय अपराध अनुसन्धान नियन्त्रणका लागि अप्रेसनका रुपमा सक्रियता देखाई रहेको जिल्ला प्रहरी कार्यालयलाई अर्को सफलता हात लागेको छ । गत हप्ता मात्रै ठूलो परिमाणमा अफिम र नक्कली नोटमा संलग्न गिरोहलाई पक्राउ गरेको सुर्खेत प्रहरीले साउन १ गते वीरेन्द्रनगर-८ कृष्ण मन्दिर स्थित एक घरबाट सेमि अटोमेटिक चाइनिज पेस्तोल, घरेलु हतियार र औषधिजन्य लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी कार्यालयमा कालिन्चोक क्षेत्रमा हातहतियार तथा ठूलो मात्रामा लागुऔषध रहेको छ भन्ने प्राप्त सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।

एसपी शाहीका अनुसार उनीहरूसँग लागुऔषध तथा हतियार रहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खोजीमा खटिएको थियो ।शंकास्पद अवस्थामा फेला पारी उनीहरुको शरीर तथा घरकोठा खानतलासी गर्दा उनीहरूको कोठाबाट एक थान सेमिअटोमेटिक चाइनिज पेस्तोल, पेस्तोलमा लाग्ने १२ राउन्ड गोली, औषधिजन्य लागुऔषध १४ सय २६ ट्याब्लेट, विभिन्न आकारका खुकुरी ४ थान, चक्कु २ थान, कुलाडी १ थान, कैँची १ थान, नाइनस्टिक १ थान लगायतका विभिन्न हातहतियार तथा खरखजना बरामद भएको छ ।

त्यस्तै, कोठाबाट प्रतिबन्धित वन्यजन्तु जरायोको जस्तो देखिने ओखेटोपहार (सिङ) १ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढाथापाले जानकारी दिए । सुर्खेत प्रहरीले अपराध नियन्त्रणका लागि यसलाई महत्त्वपूर्ण सफलतका रूपमा व्याख्या गरेको छ ।
उनीहरू विरुद्ध हातहतियार, लागुऔषध र वन्यजन्तु ओखेटोपहार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका २ जना मध्येका एक विधान शाही २०७८ साल भदौ २७ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइ फरार सुचिमा थिए ।


कृषि रैबार । ३ श्रावण २०८२, शुक्रबार