उत्कृष्ट किसान पुरस्कृत, कृषि मन्त्रीको गुनासोको चाङ

सुर्खेत जिल्लामा व्यवसायिक रुपमा कृषि उद्धम गरिरहेका कृषकहरु मध्येबाट उत्कृष्ट ३ जनालाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । कृषि विकास निर्देशनालय, कर्णाली प्रदेशको आयोजनामा सुर्खेत जिल्ला स्तरीय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कृषि विकास निर्देशनालय, सुर्खेतका निमित्त निर्देशक तिलक प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विनोदकुमार शाहको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्र बहादुर रोकाय, पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पङ्गेनी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख डा. धर्मराज रेग्मी, कृषि शाखा भेरीगङ्गाका सुरज बिसी, वीरेन्द्रनगर कृषि शाखाका हेमराज केसी, पदम नेपाली लगायत सरोकारवालाको आतिथ्यता रहेको थियो ।

सुर्खेत जिल्लामा वृहत् रुपमा कृषि कर्म गरिरहेका कृषकहरुबाट दरखास्त माग गरि संकलित निवेदन उपर स्थलगत निरीक्षण, प्रविधिक अनुगमन मुल्यांकन गरि छनौट समितिको निर्णय अनुसार ३ जनालाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरिएको कृषि विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक तिलक प्रसाद पाण्डेले कृषि रैवारलाई जानकारी दिए । भेरिगंगा-८, सुर्खेतमा वृहत् केरा खेती गरिरहेका युवा उद्यमी विनोद शर्मालाई प्रथम पुरस्कार स्वरुप नगद ३० हजार सहित प्रसंसा पत्र प्रदान गरिएको छ ।

त्यस्तै मेवा ड्रागन फ्रुटको खेती गरिरहेका वीरेन्द्रनगर-१३ का ललित प्रसाद लामिछानेलाई नगद २५ हजार र प्रसंसापत्र सहित द्वितीय पुरस्कार प्रदान गरिएको थियो भने तृतीय पुरस्कर २० हजार र प्रसंसापत्रले  तरकारी खेती र पशुपन्छी पालन गरिरहेकी भेरिगंगा-१०, सुर्खेतकि अञ्जना बुढा सम्मानित भएकी छन् ।


६ वर्ष देखी व्यवसायीक रुपमा केरा खेती गरिरहेका विनोद शर्माले यसरी कार्यक्रममा आफू उत्कृष्ट कृषकको रुपमा प्रथम स्थान हासिल गर्न पाउदा गर्वान्वित र निकै उत्साहित भएको र सो वापत सरकारलाई धन्यवाद दिदै थप सहयोगको अपेक्षा रहेको बताए ।
कार्यक्रममा बोल्दै पशुपन्छी विकास निर्देशनालयका नि. निर्देशक कृष्ण पङ्गेनीले कृषकको सेवामा समर्पित कार्यालयहरु यस्तो उपलब्धिमा पुरस्कृत गर्ने कार्यक्रममा सहभागी हुन पाउनु खुसीको कुरा भएको बताउदै कृषकलाई कसरी व्यवसायिकरण गर्ने, कसरी उद्धमी बनाउने, कसरी रोजगार सिर्जना गर्ने भन्ने तिर लाग्नु पर्ने प्रमुख दायित्व रहेको  उल्लेख गरे  भने सरकारको लक्ष अनुरुप किसानले साथ दिएकोमा कृषकलाइ धन्यवाद दिदै कृषिमा निरन्तरता दिन आग्रह समेत गरे ।

त्यस्तै कर्णाली कृषिमा कम्मर कसेर लागेकाले राष्ट्रपति उत्कृष्ट पुरस्कार २ जनाले प्राप्त गर्न सफल रहेकाले अन्य कृषक पनि उत्कृष्ट हुनका लागि सम्मानित किसानहरुबाट केही कुरा अनुसरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यन्वयन इकाई सुर्खेतका प्रमुख डा. धर्मराज गिरीले सुझाए ।


एकिकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्र रोकायले कर्णाली प्रदेश सरकारले कृषिमा अन्य प्रदेश भन्दा धेरै राम्रो काम गरेको उल्लेख गरे । जुम्लामा ६० करोड स्याउ उत्पादन हुनु, ४० करोड मूल्य बराबरको अदुवा,६० करोडको सुन्तला उत्पादन भइ सल्यानको१२ करोड मूल्य बरावरको अदुवा निर्यात गरेकाले यो कृषि क्षेत्रमा कर्णालीको राम्रो उपलब्धी रहेको बताए । सम्मानित हुनेहरुको विषयमा कार्यविधीका कारण ३ जना मात्र समेटिए पनि कर्णालीका हरेक पालिकाले यस्तो सम्मान, पुरस्कार कार्यक्रम राखेर किसानलाई  हौसला प्रदान गर्नुपर्ने बताए ।


कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विनोदकुमार शाहले सम्मानको धनराशि थोरै भएपनि अन्य कृषकहरुलाई प्रेरणा मिलोस र अनुकरणिय बन्न तर्फ अग्रसरता वृद्धि गर्न सकियोस् भनेर पुरस्कृत गरेको बताए ।


के-के कुरा उठाए त मन्त्री शाहले?
– धेरै अन्नदाता कर्म भूमिमा खटिदापनि आवश्यकता अनुसारको उत्पादन बढाउन सकेका छैनौ । यस्तो कार्यक्रमले अरुपनि संलग्न हुने प्रेरणा जाग्छ ।
-सवै क्षेत्रका जुनसुकै पोजिसनको मानिसलाई पनि खाद्य आवस्याक भएकाले कृषि महत्वपूर्ण क्षेत्र हो । जो यो क्षेत्रमा संलग्न हुन्छ, समर्पित भै देशको विकासमा टेवा पुर्‍याउछ त्यस्तो क्षेत्रलाई सम्मानित बनाउनु हामी सवैको दायित्व हो ।
-कृषि क्षेत्रको योगदान राष्ट्रिय पुजिमा धेरै भएकाले सबैले यो क्षेत्रलाई विशेष महत्व दिनुपर्दछ ।


– कृषिको व्यवसायिकरण गरे मात्र सवै किसानलाई जोड्न सकिन्छ । यसमा कृषि मन्त्रालय लागेको छ । सरकार लागि परेको छ हाम्रो तर्फबाट जे जति गर्नु पर्ने हो हामी सबैसंग जोडिएर गर्न चाहन्छौ । सरकार र कृषक इमानदार भएर समर्पित हुनु पर्‍यो । अनुदान सदुपयोग गर्न लाग्नु पर्छ ।
– वास्तविक किसानले भन्दा विचौलियाले अनुदान प्राप्त गर्छ भन्ने हल्ला छ त्यसमा गम्भीर ध्यान दिनु पर्ने छ । यस्ता हल्ला चिर्न हामीले इमानदारी पुर्वक लाग्नुपर्ने छ ।
-किसानले गर्ने व्यवसाय निजि हो । नाफा किसानले खान्छ र पनि सबै किसिमका प्रोत्साहन कार्यक्रम मार्फत किसान उत्साहित बनाउन सरकार लागेको छ ।
-सबै क्षेत्रको व्यक्तिलाई कृषि क्षेत्र सम्मानित र नाफा हुने क्षेत्रका रुपमा पहिचान गराई यसमा जोड्न हामी लाग्नु पर्छ ।
-उत्पादनलाई मात्र ध्यान दिएर हुदैन । कस्तो उत्पादन गर्दैछौ भन्ने कुरा मध्यनजर गर्नुपर्ने छ । खान योग्य उत्पादन , अन्य भूगोलको भन्दा स्वास्थ्यवर्द्धक उत्पादन कसरी बढाउने , वातावरणिय प्रभाव, मानव स्वास्थ्यमा पर्ने प्रवाभलाई पनि मध्यनजर गरि कृषि क्षेत्र अघि बढाउनु छ, समृद्ध पार्नु छ ।


-हाम्रा कृषि क्रियाकलाप गतिविधिबाट प्रकृतिलाई क्षती पुगेको छ यसमा हामी आफ्नो ठाँउबाट सचेत हुनु जरुरी छ ।
– कर्णालीलाई भिन्न प्रकृतिले घेरेको छ । असाध्यै सुन्दर हावापानी छ । उत्पादन वृद्धि गर्ने, खेतीयोग्य जमिन कम भएपनी बहुमुल्य वस्तु उत्पादन गरि धनी प्रदेशका रुपमा बिकास गर्न सक्छौं । अहिले युवापंक्ति कृषिमा लाग्ने हो भने भविस्य धेरै राम्रो देखेको छु ।
-मानिसले भरिएर तपाईंको गाउँसम्म गाडी जान्छ तर रित्तै फर्कन्छ । तपाईको गाउँबाट गाडी भरिभराउ भएर दैनिक हिनेको हामीले कहिले हेर्ने ? हामिले आफुलाई उत्पादनसंग जोड्न सकेको छैनौ ।
– २ बिरुवा लगाउने,१० बिरुवा लगाउने वा ५०० विरुवा लगाउने सबै कृषक भएका छन । सरकारले गरेको सामान्य सहयोगलाई पनि सदुपयोग गर्न लाग्नु पर्‍यो ।
-अहिले सरकारले ५०% साझेदारीमा बगैँचा मोडलबाट ठूलो क्षेत्रफलमा विकास गर्ने कार्यक्रम ल्याएको छ । प्रत्येक पालिकामा विस्तार गरेको छ । सबै मिलेर सफल बनाऔ ।
-५ हेक्टर बढी क्षेत्रमा कृषि गर्ने किसानलाई १००% व्याज अनुदान कार्यक्रम, वैदेशिक रोजगारबाट फर्केका युवालाई विषेश कार्यक्रम, युवा लक्षित कार्यक्रम, रोड करिडोर कार्यक्रम, पशुपालनमा नयाँ ढंगले सोचेर कार्यक्रम ल्याएका छौ । स्रोत केन्द्रका हिसावले विकास गर्न चाहन्छ सरकार ।
– तपाइले खेती गरिरहेको माटो जर्जर बनिरहेको छ । माटोको अवस्था मृत जस्तै छ, त्यसलाई बचाउदै हामीले कृषि गर्नु पर्‍यो ।
– सुर्खेत पशुपन्छिका लागि धेरै राम्रो क्षेत्र हो । हामी सेवा प्रदायक र सेवाग्राहिले सोचे जस्तो उपलब्धि हासिल गर्न सकेका छैनौ ।
– राम्रो कुरालाई प्रचार गरि अरुलाई कृषि क्षेत्रमा प्रेरणा दिने तिर हामीले पाइला चालेनौ तर प्राकृतिक र प्राविधिक रुपमा देखिएको समस्यालाई देखाएर सरकारलाई गाली गर्ने प्रवृति व्याप्त गरायौं । सकारात्मक कुरा फैलाउने जिम्मा हाम्रो हो । हाम्रो क्षेत्र मर्यादित बनाउने हामीले नै हो । नकारात्मक कुरा चिर्ने पनि तपाईं हामीले हो तब न देश विकास हुन्छ ।
-पुरस्कार पैसा मात्र होइन यो प्रेरणा हो, हौसला हो, सम्मान हो, अगाडि बढ्ने मार्गदर्शन हो ।
-आफू लागेको क्षेत्रको अध्ययन बढाउनुस, आफ्नै क्षेत्रमा बोलाएर सम्बन्धित निकाएलाई प्रश्न गर्नुस, सहयोग माग्नुस कसैले तपाइको कुरा नसुने सिधै मन्त्रीलाई भन्नुस मन्त्रालय सुन्न र समाधान गर्न तयार छ ।
कार्यक्रम समापन गर्दै कृषि विकास निर्देशनालयका नि. निर्देशक तिलक प्रसाद पाण्डेले उत्पादन बजारिकरण र भौतिक निर्माण गरेको तथा आँप, किवि, लिची, ड्रागन फ्रुटमा राम्रो कामहरु भइरहेको साथै च्याउमा पकेट क्षेत्रको रुपमा विस्तार गरि प्राथमिकता तोकेका वालीमा नै आगामी कार्यक्रमका लागि सिफारिस गरेको बताए ।

तपाईको प्रतिक्रिया