सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान पुस्ता विशेष गरी युवा वर्गलाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता रहेको बताएका छन् ।
आज वीरेन्द्रनगरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपालका प्रतिनिधिमण्डलसँग भएको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले समाजमा बढ्दो मानसिक तनाव, आत्महत्या, लागूपदार्थको दुरुपयोग जस्ता समस्याको समाधानका लागि आध्यात्मिक मूल्य र अभ्यासलाई जीवनशैलीमा समावेश गर्नुपर्नेमा जोड दिए । उनले भने, “आजका युवाहरू आधुनिक प्रविधि त छिटो जानिरहेका छन् तर मानसिक रुपमा खोक्रो बन्दै गएका छन् । मोबाइल, सामाजिक सञ्जाल र नशालु पदार्थको लतले उनीहरूलाई भौतिक उन्नतिमा मात्रै केन्द्रित गरिरहेको छ, जसले दीर्घकालीन रुपमा समाज र राष्ट्रलाई नै असर पार्न सक्छ ।” मुख्यमन्त्री कँडेलले ब्रह्माकुमारी संस्था जस्ता आध्यात्मिक केन्द्रहरूले शुद्ध विचार, सकारात्मक सोच, आत्म-अनुशासन र नैतिक जीवनशैलीको अभ्यास गराउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने भूमिका खेलिरहेको उल्लेख गरे । उनले कर्णाली प्रदेशका विद्यालय, युवा क्लब, पुनर्स्थापना केन्द्र तथा सरकारी कर्मचारीहरूलाई लक्षित गर्दै राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव दिए ।
संस्थाका प्रतिनिधिले भौतिक विकाससँगै मानसिक र आध्यात्मिक शुद्धताले मात्र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राख्दै, राज्यले आध्यात्मिक केन्द्र र सकारात्मक सोचको प्रवर्द्धनमा सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।


कृषि रैबार । ११ श्रावण २०८२, शनिबार