कर्णाली प्रदेशको राजधानी सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डिचौरमा एक कार्यक्रमको आयोजना गरि २१औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।
‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मुल नाराका साथ धान दिवस मनाइएको हो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालालयको मुख्य आयोजना र विभिन्न कृषि सेवा प्रदायक निकायहरुको सह-आयोजना एवं समन्वयमा कार्यक्रम गरेर धान दिवस मनाइएको हो।
धान दिवस कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले किसानहरुलाई व्यवसायी भएर कृषि कर्ममा लागेको खण्डमा कर्णालीमा धान बालीको उत्पादन बढ्ने दाबी गरे।
उनले भने, ‘कर्णाली प्रदेशमा कुल ४१ हजार ९०४ हेक्टर जमिनबाट करिब एक लाख ४५ हजार ६३ मेक्टिटन धान उत्पादन हुँदै आएको छ। धान बालीको उत्पादन तथा उत्पादकत्व वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडी बढेको छ। यस क्षेत्रको थप विकासका सहयोग पुर्याउँन किसानहरू व्यवसायी खेती तर्फ अग्रसर हुनु आजको मुख्य आवश्यकता हो ।’
त्यस्तै कार्यक्रममा कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्र बहादुर रोकायले कुल ग्राहस्थ उत्पादानमा धान खेतीले महत्वपूर्ण योगदान गरेको बताउँदै धान बालीको विकास गर्नु नितान्त आवश्यक रहेको बताए । साथै नेपाल कृषि प्रधान देश भए पनि पछिल्लो ११ महिनामा मात्रै मकै, गहुँ, कोदो र धान गरेर ४३ अर्ब ८० करोड १९ लाख रुपैयाँ बराबारको खाद्यन्न आयत भएकाले आयतलाई रोक्न आम कर्णालीबासी खेतीमा अग्रसर हुनुपर्ने बताए।
मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णाली कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार कर्णाली प्रदेशमा आजका दिनसम्म ४७ प्रतिशत मात्र धान रोपाई सकिएको छ ।
कार्यक्रममा कृषि विकास निर्देशनालय,पशुपन्छी विकास निर्देशनालय, तालिम केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याक नेपाल, विश्व खाद्य संगठन, जिआइजेट, सेभ द चिल्ड्रेन, लि-वर्ड लगायतका कार्यालयबाट प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कृषि रैबार । १७ असार २०८१, आईतवार