वीरेन्द्रनगर नगरपालिकाले ल्यायो साढे ३ अर्व बढीको बजेट

कृषि रैवार सम्वाददाता, सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१/८२) का लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ३ अर्ब २ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो । नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले १५ औं नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको कुल बजेटमध्ये १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार अर्थात ७८.९३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ भने १ अर्ब ८३ करोड ४५ लाख अर्थात ५१.०७ प्रतिशत रकम पुँजीगततर्फ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये सङ्घीय वित्तीय सामानीकरण अनुदान २४करोड १२ लाख, सर्शत अनुदान १ अर्ब ६९ करोड २८ लाख ५१ हजार ३६, सङ्घीय राजश्व बाँडफाँड १८ करोड ९८ लाख ८१ हजार ९० रुपैयाँ, सङ्घीयसरकार विशेष अनुदान पूँजीगत १ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान पूँजीगत १ करोड, सङ्घीय सरकार रोयल्टी ८ लाख १८ हजार ८ सय ७३ र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान २ करोड ९९ लाख १४ हजार रहेको छ ।

यस्तै प्रदेश सशर्त अनुदान २८ करोड १३ लाख ३८ हजार, प्रदेश राजश्व बाँडफाँड ६४ लाख ७५ हजार १ सय ४८, घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जनबाट १४ करोड ३६ लाख ५८ हजार ८ सय ५२ र दहत्तर वहत्तर शुल्क २ करोड ५० लाख उठ्ने अनुमान गरिएको छ ।

यस्तै नगरपालिकाको आन्तरिक आय ३६ करोड ८३ लाख ४ हजार हुने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षमा खर्च नभई मौज्दात रहने रकम १८ करोड ७४ लाख २८ हजार रहने बताइएको छ । यस्तै सामाजिक सुरक्षा अनुदानबाट ४० करोड रकम पाइने अनुमान गरिएको छ ।

नगरपालिकाले विशेषगरी आधारभूत विषयहरुलाई बजेटमा प्राथमिकता दिएको छ । खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि १० करोड बजेट विनियोजन गरिएको छ भने वडास्तरीय योजना तथा कार्यक्रमका लागि १७ करोड २० लाख विनियोजन गरिएको छ । यस्तै मेयरसंग महिला किसान कार्यक्रमका लागि १ करोड ६० लाख, वडास्तरीय नगर गौरव आयोजनाका लागि ८ करोड बजेट विनियोजन गरिएको छ ।

नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरु

—कृषि विकास कार्यक्रम तर्फ रु.५६ लाख ५० हजार

—पशुपन्छी विकास कार्यक्रमतर्फ रु.४५ लाख ६० हजार

—उद्यम सहकारी तथा उपभोक्ता हिततर्फ रु.६१ लाख ५० हजार

—जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पताल तर्फ रु.४ करोड ५ लाख ५८ हजार

—महिला, बालबालिका, जेष्ठनागरिक,अपाङ्ग लगायत अन्य लक्षित वर्गतर्फ रु.१ करोड १६ लाख ३० हजार

—शिक्षा,युवा तथा खेलकुदतर्फ ७ करोड ९० लाख ६७ हजार

—वन, वातावरण, फोहरमैला तथा विपदव्यवस्थापन तर्फ२ करोड ६४ लाख २० हजार

—सार्वजनिक सेवा तथा सुशासनतर्फ २ करोड १७ लाख ४५ हजार

—नगर स्तरीय विविध पूर्वाधार विकास तर्फ २५ करोड ८५ लाख ५० हजार

द्शौ रास्ट्रिय गेममा मेडल जित्ने कर्णाली प्रदेशका खेलाडीहरु  लगायत टिमलाई नगद पुरस्कर  दिने रकम  घोषणा गरेको छ !!

वीरेन्द्रनगरलाई उपमहानगर बनाउने, मंगलगढीमा आकाशे पुलको नीति

नगरप्रमुख मोहनमाया ढकालले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा वीरेन्द्रनगरलाई उपमहानगर बनाउने नीति लिइएको छ । उसोत यो नीति अघिल्लो वर्ष पनि समावेश गरिएकै थियो । यद्यपि कार्यान्वयन हुन सकेन । ‘नगरपालिकालाई प्राप्त श्रोत र साधनको अधिकतम उपयोग गर्दैं पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रलाई अगाडि बढाएका छौँ,’ढकालले भनिन्, ‘नेपाल सरकारको मापदण्ड अनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसंख्या र राजस्व पुर्याउन सफल‘भएको हुँदा यसलार्ई उपमहानगरपालिकाको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने हाम्रो योजना रहेको छ ।’

वीरेन्द्रनगरको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्याबारे राष्ट्रिय गौरवको आयोजना भेरी पम्पिङ खानेपानी आयोजना निर्माण प्रक्रिया प्रारम्भ भएको छ । आगामी तीन बर्षमा कार्यसम्पन्न गरी खानेपानी व्यवस्थापन गर्न तीब्रताका साथ कार्य अघि बढाइने ढकालको भनाइ छ । साथै तत्काल खानेपानीको वैकल्पिक माध्यम, मुल सुधार, पानी वितरण प्रक्रियामा सुधार र डिप बोरिङ व्यवस्थापन गरिने उनले बताइन् ।

यस्तै राजधानी वीरेन्द्रनगरलाई राजधानी केन्द्रित पूर्वाधार विकास आयोजना लागू गरिने नीति लिइएको छ भने वीरेन्द्रनगरका मुख्य बजार पार्किङ व्यवस्थापन घण्टाघर पार्क निर्माण र घण्टाघर पश्चिम खुल्ला पार्क निर्माण घण्टाघर दक्षिण पार्क निर्माण यसै बर्ष कार्य प्रारम्भ गरी व्यवस्थित सहर निर्माण गरिने उल्लेख छ । व्यवस्थित फुटपाथ निर्माण गर्नेदेखि हालको सिटी बसपार्क पश्चिमपछि रहेको घेराबार गरेको खुल्ला ठाउँलाई पार्किङ  निर्माण गरी वसपार्क विस्तार गरिने योजना ल्याइएको छ । यस्तै वीरेन्द्रनगरको मुख्य बजार ट्राफिक व्यवस्थापनको लागि मंगलगढी चोकमा आकाशे पुलको निर्माण कार्य अगाडि बढाइने नगरप्रमुख ढकालले बताइन् ।

हरित सहर निर्माणको योजना

नगरप्रमुख ढकालले वीरेन्द्रनगरलाई हरित सहरका रुपमा विकास गरिने बताइन् । त्यसका लागि ‘हरित शहर वनाउने रहर, सफा सुन्दर हाम्रो वीरेन्द्रनगर’ भन्ने मुल अभियान नै सञ्चालन गरिने उनको भनाइ छ । यो अभियान अन्तर्गत नगर भित्रका कालो पत्रे भइसकेका सडकहरुमा सौन्दर्य वा वहुउपयोगी फुल विरुवा रोपण तथा संरक्षण कार्यक्रम गर्न टोल विकास संस्थाहरुसँग सहकार्य गरिने उनले बताइन् ।

‘नगरलाई हरित शहरका रुपमा विकास गर्न प्रत्येक सडकका लागि उपयूक्त फुल विरुवा छनोट गर्न अध्ययन प्रतिवेदन तयार‘गरिने छ,’ढकालको भनाइ छ, ‘नगरभित्रका भिन्ना भिन्नै सडकहरुमा १२ महिना नै फूल फूल्ने गरी सहरी सौन्दर्य कार्यक्रमलाई योजनाबद्धरुपमा अगाडी वढाइनेछ । साथै ग्रामिण वडाका सडकहरुमा फलफूल तथा बहुवर्षे डालेघाँसवाट सडक सजावट गर्ने स्थानीयबासीलाई प्रेरित गरिने नीति लिइएको छ ।

तपाईको प्रतिक्रिया