विनोद कंडेल
सुर्खेत जिल्लाको सदरमुकार वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्र खुलेआम रुपमा विक्री वितरण हुने गरेका अबैध चल्ला आज बरामद गरि नष्ट गरिएको छ ।
चितवनको अविनाश ह्याचरी प्रालीको कार्टुनमा १०० वटा जिवित चल्लाको दरले प्याक भइ आएका करिव १५ सय चल्लाको कुनै पनि खरिद बिल बिनाको किर्ते भेटेरीनरी प्रमाणपत्रका आधारमा दैलेख पुर्याउन लागिएको जानकारी प्रहरीलाई प्राप्त भए अनुसार नगर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त चल्ला नियन्त्रणमा लिइ चल्लाको कारोवारमा संलग्न छाङ्गु सिद्दिकी र गुल्ला सिद्दिकीलाई केरकार गर्दा कानुन विपरित भएको पाइएपछि स्थानिय नगर पशुपन्छी विकास शाखा, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, वडा कार्यालय, पत्रकार लगायतको रहोवरमा नष्ट गरिएको नगर प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक महेन्द्र कुमार रानाले जानकारी दिए ।
केही समय अगाडी देखि नै यस्तो किसिमको कारोवार हुँदै आइरहेको र सो का कारण स्थानिय एग्रोभेट व्यवसायी, चल्ला पालक किसानहरु एवम् स्थानिय सरकार पनि जवाफ विहिन भएर बसिरहेको अवस्थामा यसरी चल्ला नियन्त्रणमा लिइ नष्ट गरिनु आफैमा उपलब्धि मुलक कार्य भएको नगर पशुपन्छी विकास शाखाका प्रमुख यज्ञ प्रसाद ढकालले बताए ।
अबैध चल्लाको ओसारपसार तथा बिक्री वितरणले गर्दा सङ्क्रामक रोगको भय बढ्ने तथा चल्ला पालक किसानले वर्षभरि पाल्दा समेत सोचे अनुसारको प्रतिफल नपाउने यस्ता किसिमका लेयर्सका भाले चल्लाहरु कम्पनीले नष्ट गर्ने गरेकोमा गैर नेपाली नागरिकबाट सोझासाझा किसानलाई सस्तोको लोभमा नोक्सान पुर्याउने कार्य बढिरहेकोमा यो कार्यले केही हदसम्म भए पनि शिक्षा प्रदान गरेको र सबै सचेत नागरिकले यस्ता कार्य कहि कतै भए तुरुन्त प्रहरीलाई खवर गर्न नेपाल पशुपन्छी व्यवसायी संघ, कर्णाली प्रदेश समितिका प्रथम उपाध्यक्ष टंक प्रसाद आचार्यले अनुरोध गरे ।
यस्ता किसिमका चल्लाको कारोबार गर्नेमा बढी जसो छिमेकी मुलुकका नागरिक रहेको र चल्ला पनि भारतबाट नै आउने गरेको छ । विभिन्न स्थानमा रहेका पशु क्वारेन्टाइनले समेत बिना बिल चेक गरेर पठाउने, भेटेरीनरी प्रमाणपत्रमा निजि डाक्टरले पैसाको प्रलोभनमा परेर चल्लाको चेक जाच बिना नै हस्ताक्षर गरी प्रमाणपत्र उपलब्ध गराउने, चल्ला उत्पादक कम्पनीहरुले समेत यस्ता किसिमका चल्लाहरु समयमा नै व्यवस्थापन नगरी गैर नेपाली नागरिकलाई सहजै चल्ला उपलब्ध गराउनु, खुलेआम यस्ता किसिमका चल्लाको विक्री वितरण भइ रहदा समेत सम्बन्धित निकाय बेखवर बस्नुले समस्या बढ्दै गइरहेको पशुपन्छीको क्षेत्रमा काम गर्ने सरोकारवाला बताउछन् ।
कृषि रैबार । २९ फाल्गुन २०७९, सोमबार