बजारीकरणका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विनोद कंडेल
कृषि उत्पादनको उचित बजारीकरणका सम्बन्धमा कृषक समूह र व्यवसायी बिच एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको छ ।

रास्ट्रीय कृषक समूह महासङ्घको आयोजना र भिएसओ नेपालको आर्थिक सहयोगमा संचालित एक्टिभ र जेम्स परियोजनाले भेरीगङ्गा नगरपालिका, लेकबेशी नगरपालिका, गुर्भाकोट नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकाका कृषक समुहहरुलाई उपलब्ध गराएको बेसारको बीउ र सो बाट खेती गरि उत्पादित काचो बेसार के कसरी सहज रुपमा विक्री वितरण गर्न सकिन्छ भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि एवम् सुर्खेत तरकारी तथा फलफुल व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मण खत्रीको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा रास्ट्रीय कृषक समूह महासङ्घका रास्ट्रीय उपाध्यक्ष शशिराम आचार्य, अतिथीका रुपमा भिएसओ नेपालकी प्रतिनिधि सम्झना आचार्य, कृयटिभ क्लवका अध्यक्ष त्रिभुवन बिसी, समिकरण विकास केन्द्रका प्रकाश सारु, दीगो विकासका लागि अनुसन्धान केन्द्र प्रतिनिधि घनश्याम केसी, रास्ट्रीय कृषक समूह महासङ्घका कार्यकारी अधिकृत उत्सव जिसी, महासङ्घका जिल्ला उपाध्यक्ष निमकान्त उपाध्याय लगायत ४० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीले हाल देखा परिरहेको बजारीकरणको समस्यामा सम्बन्धित सरोकारवालाहरुले कसरी आफ्नो उत्पादनका विषयमा सहयोग गर्न सक्छन् भनेर धारणा राखेका थिए भने सहभागीको समस्यामा केन्द्रित रहदै भट्टराई मसला बेसार उद्योगका संचालक खड्क प्रसाद भट्टराईले किसानले बजारको माग अनुरुप उत्पादन गर्न सल्लाह दिए । मिसावट नगरिएको र स्थानिय स्तरमै उपलब्ध स्रोत साधनको उचित प्रयोगबाट उत्पादन गरिएका बस्तुहरु आफ्नो उद्योगले सहर्ष खरिद गर्ने उनले बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी सुर्खेत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि एवम् सुर्खेत तरकारी तथा फलफुल व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मण खत्रीले किसानले उत्पादन गर्दा सदैव बजारको माग र आवश्यकतालाई ख्याल गरि उत्पादन गर्नु पर्ने र किसान स्तरबाट गर्न सक्ने काम जस्तै ग्रेडिङ्ग, प्याकेजिङ्ग आदिमा पुर्ण रुपमा लाग्नु पर्ने साथै समुहगत र परिमाणमुखी भएर काम गरे सफल हुने जानकारी दिए ।


कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति एवम् रास्ट्रीय कृषक समूह महासङ्घका कर्णाली प्रदेश अध्यक्ष सन्त बहादुर केसीले बेसार उत्पादक किसानको प्रमुख समस्या भनेको बजारीकरण भएको र सो समस्या सुल्झाउन सरोकारवाला सवैले सहयोग गर्नुपर्ने जानकारी दिए ।


त्यस्तै रास्ट्रीय कृषक समूह महासङ्घ सुर्खेत जिल्ला समितिको आयोजनामा कार्यसमिति पुनर्गठनको कार्य सम्पन्न भएको छ । पुर्व गठित कार्यसमिति अध्यक्ष विहिन भएर लामो समयसम्म चलेका कारण प्रदेश कमिटीले नै जिल्ला कमिटिको सम्पुर्ण काम गर्दै आइरहेकोमा पुर्ण पदाधिकारी सहितको कार्यसमिति बनाएर कामको जिम्मा दिइने प्रदेश अध्यक्ष सन्त बहादुर केसीले जानकारी दिए । नवगठित कार्यसमितिको अध्यक्षमा निमकान्त उपाध्याय, उपाध्यक्षमा जागुराम थारु, सचिव रण बहादुर दर्लामी, सह-सचिव नारायण प्रसाद बास्तोला, कोषाध्यक्षमा सिर्जना बि.क, सदस्यहरुमा ललिता सिंह ठकुरी, बिन्द्रा थापा, पुर्णकला बि.क, देविका शाही, सरस्वती सुनार सर्वसम्मत चयन भएका छन् ।

तपाईको प्रतिक्रिया