विनोद कंडेल
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा रहेको जन नमुना माध्यामिक विद्यालयमा विगत १० दिन देखि चलीआएको सहायक प्रधानाध्यापकहरुको किचलोको विषयले आज निष्कर्ष पाएको छ ।

विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, असन्तुष्ट पक्षका शिक्षकहरु र अन्य शिक्षकहरुको संयुक्त छलफलले असन्तुष्ट शिक्षकहरुको माग सम्बोधन गर्दै समस्या अन्त्य गरि शैक्षिक क्रियाकलाप नियमित रुपमा सुचारु गर्ने निर्णय गर्दै कक्षाहरु संचालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले जानकारी दिए ।

सो विषयमा पौष १९ गते सोही विद्यालयमा कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुको समुहले विरेन्द्रनगर नगरपालिकाका नगर उप(प्रमुख निलकण्ठ खनाललाई विद्यालयमा पछिल्लो समय उत्पन्न भएको समस्याका कारण विद्यार्थीहरुले नियमित रुपमा पढ्न नपाएकोले तत्काल समस्या समाधान गरिदिनका लागि माग राख्दै ध्यानाकर्षण गराएका थिए ।

विद्यालयमा देखा परेको समस्याका विषयमा कार्यालय जानकार रहेको र सो विषयलाई समयमा नै छलफलको माध्यामद्वारा निचोडमा निकाली पठनपाठन कार्यमा सहजता हुने गरि वातावरण सिर्जना गर्नका लागि नगर शिक्षा शाखा र सम्बन्धित सरोकारवाला निकायसङ्ग सहकार्य गरि लागि पर्ने उप(प्रमुख खनालले बताएका थिए ।



कृषि रैबार । २० पुष २०७९, बुधबार