विनोद कंडेल
सधै जसो मकै बालीमा मात्र क्षती पुर्याउने फौजी किराले यस पटक भने वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १० बामेखोलामा लगाइएको गहुँ बालीमा व्यापक समस्या देखा परेको छ ।

यो भन्दा अगाडि फौजी किराले सो क्षेत्रमा कुनै पनि बालीमा क्षती नपुर्याएको तर यस पटक भने फौजी किराले गहुँ र गहुँमा लगाइएका अन्य बाली समेत सखाप पारेको छ । ६ बिगाह भन्दा धेरै क्षेत्रमा लगाएको गहुँ बालीमा फौजी किराले पुर्ण रुपमा नोक्सान पुर्याएको पाइएको छ । गहुँ बोटको वृद्धि विकासको अवस्थामा उक्त किराले क्षती पुर्याउदा सो क्षेत्रका किसानहरु समस्यामा परेको बताएका छन । समयमै उक्त किराको प्रकोप कम गर्न नसकिए विगत साल भन्दा यो वर्ष गहुँ अभाव हुने अगुवा कृषक कर्ण बहादुर रास्कोटीले जानकारी दिए ।

फौजी किराले गहुँ बालीमा नोक्सान पुर्याएको जानकारी पाए लगतै कृषी विकास निर्देशनालयको टोलिले स्थलगत अध्ययन र अनुगमन गरेको छ । उक्त क्षेत्रमा फौजी किराको प्रकोप व्यापक भएको र सो बाट भएको क्षति न्यूनीकरण एवम् रोकथामका लागि तत्काल प्राविधिक समितिको बैठक बसि आवश्यक सामाग्री र विषादी उपलब्ध गराउने निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायले जानकारी गराए ।



कृषि रैबार । १८ पुष २०७९, सोमबार