विनोद कंडेल
२०३० सालतिर नेपालबाट धान चामल विदेश निर्यात हुने गरेको इतिहास पढ्न पाइन्छ। त्यति बेला सरकारले धान चामल निर्यात गर्न धान–चामल निर्यात कम्पनी नै स्थापना गरेको थियो।
त्यो समय देख्ने मानिस अझै जिउँदै छन्। नेपालले धान–चामल निर्यात गरेको देखेका मानिसहरूले अहिले ठिक उल्टो ग्राफ हेर्नु परिरहेको छ। अहिले नेपालले निर्यात गर्नुको सट्टा निक्कै ठुलो परिमाणमा धान–चामल आयात गर्न थालेको छ। अझै आयातको ग्राफ घट्नुको सट्टा डरलाग्दो तरिकाले बढ्दो क्रममा उक्लिँदै गइरहेको छ।
हालै भन्सार विभागले मंसिर महिनाको आयात निर्यातको तथ्याङ्क सार्वजनिक गर्यो। विभागले सार्वजनिक गरेको तथ्याङ्कमा धान–चामलको आयात ५०० प्रतिशतले बढेको छ। कात्तिकको तुलनामा उक्त वृद्धि देखिएको हो। विभागका अनुसार गत कात्तिकमा १ अर्ब १७ करोड रुपैयाँ बराबरको धान–चामल आयत भएकोमा मंसिरमा एकाएक बढेर पाँच अर्ब ८७ करोड रुपैयाँ बराबरको धान–चामल आयात भयो।
धान–चामलको आयात मंसिरमा मात्रै बढेको होइन, यस अघिका महिनामा पनि क्रमिक रुपमा आयात बढ्दै आइरहेको थियो। तर मंसिरमा जति आयात भने गएको चार महिनामै बढेको थिएन। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै नेपालीले १२ अर्ब ६५ करोड रुपैयाँ बराबरको धान–चामल किनेर खाइ सकेका छन्। त्यो पनि विभिन्न देशहरूबाट आयात गरे। 
धान–चामल आयात गरेर खानु पर्ने अवस्था मंसिरमा मात्रै देखिएको होइन, धान–चामलको आयातको ग्राफ उकालो लाग्न थालेको निक्कै वर्ष भइसक्यो। गत वर्ष मात्रै नेपालीले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बराबरको धान–चामल आयात गरेर खाए। आर्थिक वर्ष २०७६र७७ मा नेपालीले ३३ अर्ब ६५ करोड रुपैयाँ बराबरको धान–चामल आयात गरेर खाएका थिए। चालु वर्षको पहिलो पाँच महिनामा १२ अर्बको मात्रै आयात भएको भनेर सन्तोष मान्नु पर्ने स्थिति छैन। किनकि जुन प्रतिशतले आयातको ग्राफ उकालो लागिरहेको छ। त्यो हिसाबले चालु वर्ष थप आयातको ग्राफ बढ्ने प्रक्षेपण हुन थालेको छ। किनकि कात्तिक महिनाकै तुलनामा असोजमा ५०० प्रतिशतको आयात वृद्धि छ। जसले पनि प्रक्षेपणलाई यथार्थमा परिणत गर्न टेवा दिन्छ।
धान–चामल आयात बढ्नुको मुख्य कारकको रुपमा जनसङ्ख्या अनुसार उत्पादन वृद्धि नहुनुलाई ठहर्याउन सकिन्छ। वि।सं। २०१८ मा नेपालमा एक हेक्टर खेतमा १।९ लाख मेट्रिक टन धान उत्पादन हुन्थ्यो। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको तथ्याङ्कले उक्त परिमाणमा देखाएको हो। अहिले त्यो बढेर प्रतिहेक्टर करिब ३।८ लाख मेट्रिक टन पुगेको छ। उत्पादनमा भएको यो वृद्धिलाई हेरेर जो कोहीले राम्रै मान्न सक्ने अवस्था छ। तर यो वृद्धिले मात्रै सबै नेपालीलाई खान पुग्ने अवस्था भने छैन। किनकि गएको ६ दशकमा खाने मुख उल्लेख्य बढेको छ। जति बेला एक हेक्टरमा १।९ लाख मेट्रिक टन धान उत्पादन हुन्थ्यो। त्यस बेला नेपालको जनसङ्ख्या ९४ लाखको हाराहारीमा थियो। तर अहिले जनसङ्ख्या बढेर दुई करोड ९१ लाख पुगेको छ। जनसङ्ख्या अनुसार बढ्न नसकेको धान–चामल उत्पादनले नै गर्दा आयात बढ्दै गएको पुष्टि गर्छ।
केही व्यवसायीले भने नेपालीको मुख नै मिठो हुँदै गएको कारण नेपालमा धान–चामलको आयत बढ्दै गएको तर्क गर्ने गरेका छन्। आफ्नो खेतमा उब्जिएको धान–चामल बेचेको सोही पैसाले वासनादार धान–चामल किनेर खाने बानी बढ्दै गएको कारण धान–चामलको आयातको ग्राफ बढ्दै गएको उनीहरूको तर्क छ। अझै धेरै जसो नेपाली विदेशमा हुने र उनीहरूले पठाएको पैसाले मिठो चामल खाने बढेकाले पनि आयातको ग्राफ बढ्न टेवा पुगेको उनीहरूको ठम्याइ छ। मिठो स्वादको चामल खाने बानी परेकैले गर्दा नेपालमा उत्पादित धान–चामल भारत जाने र त्यहीबाट वासनादार, मसिनो चामल भित्रिने गरेको पनि केही व्यवसायी जिकिर गर्छन्। तर उनीहरूले जसरी भारत जाने तर्क गर्ने गरेका छन्। त्यसलाई विभागले सार्वजनिक गर्ने आयात निर्यातको तथ्याङ्कले पुष्टि गर्दैन। भारत वा कुनै पनि देशबाट धान–चामलको जति आयात हुने गरेको छ। त्यस अनुसार निर्यात भने १ प्रतिशत पनि देखिँदैन। नेपालमा उत्पादन भएको धान–चामलले नेपालीलाई नै खान नपुगिरहेको विभागको तथ्याङ्कमा प्रस्टिन्छ।
तर जसरी आयात बढिरहेको छ। त्यस तर्फ भने सरकारले अहिले नै गम्भीर हुनु पर्ने देखिन्छ। नत्र भने भोलिका दिनमा रेमिटेन्स मार्फत आएको रकम धान–चामल किन्नकै लागि पुन विदेश नै नफर्केला भन्न सकिन्न ।


कृषि रैबार । १० पुष २०७९, आईतवार