वर्गिकरण सहितको किसान परिचयपत्रको अभ्यासको लागि सम्झौता सम्पन्न

कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्था मिलाउन स्थानीय सरकारसंगको सहकार्यमा लेकवेशी नगरपालिका,सुर्खेत भित्रका सबै घरधुरीको तथ्यांक संकलन, ब्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि लेकवेशी नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ, नेपाल विच सम्झौता गरिएको छ । भिएसो नेपालको श्रोत साझेदारीमा महासंघले उक्त अभ्यासको प्रकृयामा सहजिकरण गर्ने महासंघका राष्ट्रिय उपाध्यक्ष शशिराम आचार्यले जानकारी दिए ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दे महासंघका प्रदेश अध्यक्ष खत्री र नगर प्रमुख पौडेल

नेपालको संविधान २०७२ मा व्यवस्था गरिए बमोजिम खाद्य संप्रभुता हकको संरक्षण गर्दै राज्यले अगिंकार गरेको कृषि नीतिमा उल्लेखित किसानको हकहित संरक्षण सम्बर्धन गर्दै किसानको पहिचान गरि वर्गिकरण गर्ने र त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउनुका साथै नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचयपत्रको आधारमा ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने उदेश्यले लेकवेशी नगरपालिकाले किसान परिचयपत्र वितरण अभ्यास शुरु गरेको हो । जसका लागि नगरपालिकाको नगरसभाले स्थानीय कृषि ऐन, २०७८ पास गरेको नगर प्रमुख उमेश कुमार पौडेलले बताए ।

सम्झौता कार्यान्वयनका लागि महासंघ र नगरपालिकाका प्रतिनिधी

नेपालको संविधानमा उल्लेखित किसानको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धी हकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरण गर्दै कृषि प्रणाली तथा सो को मुल्य शृंखलामा सुशासन कायम गर्न; कृषि प्रणालीलाई दिगो साथै कृषि क्षेत्रमा समता मुलक विकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसंगको सहकार्यमा महासंघले स्थानीय कृषि ऐन साथै किसान परिचय पत्रलाई अभियानको रुपमा अगाडि बढाउँदै आएको महासंघका कर्णाली प्रदेश अध्यक्ष सन्त बहादुर खत्रीले बताए । महासंघका कार्यक्रम अधिकृत विष्णु प्रसाद पन्थका अनुसार सो अभ्यासले जोखिममा रहेका किसानलाई सेवा पहुँचमा अग्राधिकारको आधार तय गनर््का साथै किसान परिचयपत्रको आधारमा किसानलाई सेवा सुविधा र सामाजिक सुरक्षाको अभ्यासका कार्य गर्न तहगत सरकारलाई सहयोग गर्ने छ ।

तपाईको प्रतिक्रिया