नारेटप्परको साधारण सभा सम्पन्न

सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ खोर्केमा रहेको नारेटप्पर कृषि बहुमुखी सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, विशेष अतिथिको रुपमा ४ नं. वडा कार्यालयका वडा अध्यक्ष शेरबहादुर केसी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधी, सामुदायिक बनका प्रतिनिधी, सामाजिक संघसंस्थाका प्रतिनिधि विभिन्न सहकारीका प्रतिनिधिहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सहभागीहरु

साविक वीरेन्द्रनगर नगरपालिका वार्ड नं. १ देखि १२ सम्म कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थाले गत आर्थिक वर्षमा करिब १ लाख ५० हजार रुपैया बराबर शेयर पूँजी संकलन गर्न सफल रहेको जानकारी दिएको छ । एक करोड ४३ लाख बराबर कारोबार गर्न सफल रहेको उक्त सहकारी संस्थाले गत आर्थिक वर्षमा ६ लाख ८४ हजार रुपैयाँ बराबर आम्दानी गर्न सफल रहेको पाइएको छ । उक्त सहकारी संस्थाको सुरुवात नारेटप्पर तरकारी उत्पादन समूहबाट सुरु भई तरकारी उत्पादन गर्ने किसानहरुले उत्पादित तरकारीहरुलाई बजारमा लिएर बेच्ने र आर्थिक आवश्यकताहरू पूरा गर्ने सोचले स्थापित तरकारी समूहले आईपिएम तरकारी खेती सम्बन्धि तालिम सम्पन्न गरी २०६४ सालमा सहकारी डिभिजन कार्यालय सुर्खेतमा विधिवत रुपमा दर्ता गरी २५ जना शेयर सदस्यहरूको बीचमा प्रारम्भिक साधारणसभा सम्पन्न गरिएको र त्यसैको प्रतिफल आज त्यस नारेटप्पर कृषि बहुमुखी सहकारी संस्थाले २३६ जना शेयर सदस्यको माझमा आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको अध्यक्ष आर्चायले जानकारी दिए ।

संस्थाका अध्यक्ष गोविन्द आचार्य

उनले भने “सहकारीको उद्देश्य परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नु रहेतापनि मानवीय र सामाजिक कामहरु पनि गर्दै संस्थाले कृषि मल वितरण, कर्जा लगानी, बचत संकलन आदि कार्यहरू गरे तापनि संस्थालाई मजबुत बनाउनको लागि कृषि उत्पादनमा बृद्धि गरेर कृषकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ संस्था लागिपरेको र संस्थाले हालसम्म अन्य संघसंस्थाबाट ऋण नलिएर साधारण ब्याज दरमा कर्जा लगानी गरेको छ ।”

कार्यक्रमका सभाध्यक्ष आचार्य

कार्यक्रमका सभाध्यक्ष एवं संस्थाका अध्यक्ष आचार्यले आर्थिक वर्ष २०७९र०८० का लागि प्रस्तावित कार्यक्रमहरु पेश गरेका थिए भने संस्थाका कोषाध्यक्ष विनोद कंडेलले गत आर्थिक वर्षमा भए गरेका आय व्यय विवरण र प्रस्तावित कार्यक्रमहरु पेश गरेका थिए । ऋण उपसमितिका संयोजक टीकाराम तिवारीले पेश गरेको प्रतिवेदन अनुसार संस्थाले गत वर्ष करिब ८२ लाख ऋण लगानी गरेको र सदस्यसंग बाँकी रहेको करिब ८० लाख ऋणको बारेमा जानकारी दिएका थिए । सहकारीले गत आर्थिक वर्षमा करिब ३ लाख ९७ हजार बराबरको अनुदानको रसायनिक मल विक्री वितरण गरेको थियो ।
कार्यक्रमका विशेष अतिथि एवं ४ नं. वडा कार्यालयका वडाध्यक्ष शेरबहादुर केसीले वडाका कृषकहरुलाई कृषि कार्यमा सहजता होस भन्ने उद्देश्यले वडा कार्यालयले २९ लाख रुपैयाको कार्यक्रम उपलब्ध गराएको र सहकारी आगामी दिनमा समेत कृषकको हितमा प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम माग गरेको खण्डमा समेत वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि एवं ४ नं. वडा कार्यालयका अध्यक्ष शेर ब. केसी

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले सहकारीले १५ बर्ष पार गरी हालसम्म गरेको कारोवारको आधारमा नाफा आर्जन गरेकोमा शुभकामना व्यक्त गरे । अहिलेसम्म गरेका कामहरु उत्कृष्ट भएपनि सहकारीले अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिँदै अब संस्थाले स्वच्छ अर्गानिक तरकारी संकलन गरी बिक्री वितरणको योजना बनाउन र सोका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै सहकारीको प्रगतिको कामना व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि एवं वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल

कार्यक्रमको संचालन संस्थाका सचिव भरत पन्तले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य सस्थाकि कार्यसमिती सदस्य गोमा पौडेलले राखेकी थिइन् ।
कार्यक्रममा नियमित वचतकर्ता, असल ऋणी, जेष्ठ शेयर सदस्य र संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित जेष्ठ सदस्य
तपाईको प्रतिक्रिया