कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, उत्तरदायी पर्यावरणीय कृषि एवं खाद्य अधिकार विषयक दुई दिने तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय कृषक समूह महासंघ कर्णाली प्रदेश सुर्खेतको आयोजना र एक्टिभ पयोजनाको आर्थिक सहयोगमा सम्पन्न भएको उ्रक्त तालिममा महासंघको तहगत संरचना अन्तरगत कृषक समुहका किसान प्रतिनिधिहरु र सरोकारवाला व्यक्तिहरु गरी करिव ३४ जनाको उपस्थितिमा किसान अभियान र सवालगत पैरवी, उत्तरदायी पर्यावरणीय कृषि, खाद्यअधिकार, खाद्य सुरक्षा, खाद्यसम्प्रभुता अवधारणा एवं नीतिगत प्रावाधन र तहगत सरकारको भूमिका, खाद्य अधिकारको स्थानीयकरण, लैङ्गिक समानता र सामाजिक समावेशीकरण एवं लैगिक मैत्री कृषि जस्ता विषयहरुमा केन्द्रित रहेर तालिम सञ्चालन गरिएको थियो ।
राष्ट्रिय कृषक समूह महासंघ कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष सन्त बहादुर केसीको अध्यक्षतामा सञ्चालन गरिएको तालिमको प्रमुख अतिथि राष्ट्रिय कृषक समूहमा महासङ्घका केन्द्रीय अध्यक्ष नवराज बस्नेत रहेका थिए । कार्यक्रममा महासङ्घका कार्यक्रम अधिकृत विष्णु प्रसाद पन्थले भिएसओ नेपालसँगको सहकार्यमा सञ्चालन गरिएको परियोजनाको बारेमा जानकारी दिएका थिए ।
तालिममा खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, नितिगत प्रावधान र तहगत सरकारको भुमिका, खाद्य अधिकारको स्थानीयकरण, लैंगिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा कसरी महासंघले सहकार्य गरेर कार्यक्रमहरु अगाडि बढाइरहेको छ, आगामी दिनमा महासंघले कसरी कार्यक्रमहरु सञ्चालन गर्ने योजना लिएको छ र पछाडि पारिएका समुहगत सम्प्रदायको उत्थानका निमित्त महासंघले कस्ता खालका कार्यक्रमहरु आयोजना गर्दा उनीहरूको दैनिक जीवनयापन सहज हुन्छ, उनीहरुलाई कसरी आर्थिक रुपमा सशक्त बनाउन सकिन्छ साथै राज्यद्वारा कृषक समूहका नाममा उपलब्ध गराउँदै आइरहेका सेवा सुविधाहरुमा समन्वय एवम् सहकार्य गर्दै समूहमा आबद्ध हुने कृषकहरुलाई कसरी सवलीकरणमा भन्नेउद्देश्यले यस्ता खालका तालिमहरु संचालन गरिरहेको महासङ्घका केन्द्रीय उपाध्यक्ष शशिराम आचार्यले जानकारी दिए ।
कृषि रैबार । १३ मंसिर २०७९, मंगलवार