प्रयोग नगरेरै जिर्ण हुन थाल्यो प्रयोगशालाको बस

              के तपाई कुनै काम भएर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अवस्थित कृषि विकास निर्देशनालय परिसर भित्र प्रवेश गर्नु भएको छ ? छ भने कार्यालयको पुर्वपट्टी माथिल्लो साइडमा तपाइले पक्कै पनि सेतो प्लाष्टिकले छोपिराखेको अवस्थाको एउटा हरियो रङ्गको वस याद गर्नु भएको छ होला ।


आज हामी तपाईँहरूलाई उक्त बसको बारेमा जानकारी गराउन गइरहेका छौ । सो वस अन्य कुनै कार्यालयको नभई एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेत को हो । उक्त वस विगत पाँच वर्षदेखि प्रयोग विहिन अवस्थामा कार्यालय परिसरमा सेतो प्लाष्टिकले छोपिरहेको अवस्थामा पाइएको छ । झट्ट हेर्दा वस जस्तो देखिए पनि सो वस माटो परीक्षण गर्नका लागि ल्यावका लागि आवश्यक पर्ने सम्पुर्ण स्रोत साधन जडित घुम्ती वस हो । कृषकहरुलाई स्थानीय स्तरमा नै माटो परीक्षणको सुविधा दिनको लागि उक्त वस प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग स्वरूप एकीकृत कृषि प्रयोगशालालाई उपलब्ध गराएको हो । तर उपलब्ध गराएको दिनदेखि सो वस कुनैपनि प्रयोगमा नआएर जिर्ण वन्दै गईरहेको छ ।

           वसको बारेमा बुझ्न जाँदा कार्यालय प्रमुख पर्शुराम रावत भेटिएनन् । कार्यालयका प्राविधिक सहायक प्रयोग बहादुर शाहीले बस चलाउने जनशक्तिको अभाव, भ्याली बाहिर रोडको अवस्था कमजोर भएको, ठूलो सवारी चलाउने चालकको अभाब र गाडीको पार्टस् कडा भएका कारणले वस उक्त कार्यालयमा आएको दिनदेखि हालसम्म प्रयोगविहीन भएर बसिरहेको जानकारी दिए । वस कार्यालयमा आएको वर्ष एकपटक मात्रै कपुरकोट लगिएको भएपनि त्यहाँ देखि हालसम्म उक्त बस नचलेको जानकारी दिए । एकीकृत माटो मल परिक्षण प्रयोगशालामा दुई जनाको दरबन्दी भएपनि एकजना अवकास प्राप्त भएर गएका र हाल एकजनाले मात्र सेवा दिईरहेको उनले जानकारी दिए । आवश्यक जनशक्ति व्यवस्थापनका लागि पटक(पटक मन्त्रालयसँग अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएकाले यो अवस्था आएको शाहीले जानकारी दिए ।

         कार्यालयमा त्यसै थन्किरहेको बस व्यवस्थापन गर्नको लागि कार्यालय प्रमुख परशुराम रावतले उक्त बस कृषि तथा पशुपन्छी व्यवसाय प्रर्वद्धन प्रशिक्षण केन्द्र लाई आवश्यक परेको र सो कार्यालयमा पठाउनका लागि पहल नचालेका भने होइनन् । तर आफ्नो कार्यकालका वेला परियोजनाबाट उपलब्ध भएको बस एकपटक पनि प्रयोग नगरिकन त्यसै अर्कालाई हस्तान्तरण गर्नु उचित नहुने भन्दै शाहीले प्रस्ट इन्कार गरे । यसरी कार्यालयमा आवश्यक पर्ने दक्ष जनशक्ति नहुँदा नहुँदै पठाउने परियोजनाको दोष हो कि माल पाएर पनि चाल नपाउने एकीकृत कृषि प्रयोगशालाको लापरवाही हो । बेलैमा किसानहरुले आफ्नो खेतबारीमै माटो परिक्षण गर्न पाएका भए उत्पादकत्व बढ्ने थियो नै सँगसँगै बसको पनि काम हुने थियो । तर त्यसरी प्रयोगविहीन अवस्थामा वस रहँदा बसले कार्यालयलाई गिज्याइरहेको हो कि कार्यालयले बसलाई कुरीकुरी गरिरहेको हो छुट्याउनै गाह्रो भयो ।

तपाईको प्रतिक्रिया