भुउपयोग निति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरेन्द्रनगर नगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा भुउपयोग नीति सम्बन्धी एक दिने राय संकलन गोष्ठी सम्पन्न गरिएको छ । वडा भित्र रहेका जग्गाहरुको मङ्सिर २३ गतेभित्र वर्गिकरण गरिसक्नुपर्ने सरकारको नीति बमोजिम कृषि, व्यापारिक, सार्वजनिक सेवा, धार्मिक, पर्यटकिय, बन, खोला तथा सिमसार क्षेत्र घोषणा गरेर सोही बमोजिम कार्य गर्ने गरि सो कार्यक्रमको आयोजना गरिएको हो ।                                वडा भित्रका सहकारी प्रतिनिधि, विभिन्न पार्टी प्रतिनिधि, विद्यालय प्रतिनिधि, टोल विकास संस्था प्रतिनिधि, वडा कार्यालयका निर्वाचित जनप्रतिनिधि, समाजसेवी लगायत सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम वडा अध्यक्ष शेर बहादुर केसीको सभापतित्वमा संचालन गरिएको थियो । कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख टंक लामिछानेले सो कार्यक्रम प्रारम्भिक चरणको अवस्थामा रहेकाले सबै वडाबाट राय परामर्श संकलन गरेर भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बताए । त्यस्तै नगरपालिकामा प्राप्त भुमिहिन अव्यवस्थित बसोबासिको निवेदनका आधारमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर एक, आठ, सोह्र र छ को तथ्यांक डिजिटलाइज गर्ने काम सकिएको र ११ को काम सुरु गरिएको जानकारी दिए । कार्यक्रमका सहभागीहरुले विषयगत क्षेत्रहरू तोक्नका लागि नगरपालिकाको स्पष्ट मापदण्ड हुनु पर्ने र सो भन्दा अगाडि तत्काल वडा भित्रका बाटोहरुको लगतकट्टा गर्नु पर्ने धारणा राखेका थिए । सिमित मान्छेहरुको उपस्थितिमा निर्णय गर्नु भन्दा सम्बन्धित टोलहरुमा गएर राय सुझाव संकलन गर्नुपर्ने कार्यक्रममा सहभागीको माग रहेको थियो । सो कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष केसीले नगरपालिकाले जग्गाको वर्गीकरण नगरेसम्म कित्ताकाटको काम नगर्ने र वर्गीकरण कार्यका लागि तोकिएको समयभित्र क्षेत्रगत एवम् विषयगत वर्गीकरण गर्नका लागि वडाबासी सम्पुर्णमा अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया