आर्थिक वर्ष २०७८/७९ मा ८६ करोड ४६ लाखको तरकारीको बीउ आयात भएको छ । उक्त समयमा २ लाख ४६ हजार २ सय ७३ केजी तरकारीको बीउ आयात भएको हो । यस तथ्याङ्कलाई आधार मान्दा अधिकांश तरकारीको बीउ आयात हुने गरेको छ
आर्थिक वर्ष २०७८/७९ मा १३ करोड १० लाख मूल्य बराबरको ४ हजार २ सय ९८ केजी काउलीको बीउ नेपाल भित्रिएको छ । त्यसै गरी ६ करोड ६ लाख रुपैयाँको ३ हजार ३ सय ६२ केजी बन्दा कोभी, १ करोड ९१ लाख मूल्य बराबरको २ सय ३० केजी ब्रो काउलीको बीउ आयात भएको छ ।
त्यसै गरी एक वर्षमा नै २० करोड १९ लाखको १ हजार १ सय ४४ केजी काँक्राको बीउ, ५ करोड ४२ लाखको ४ हजार ५ सय ८ केजी गाजरको बीउ आयात हुँदा २ करोड ७१ लाख बराबरको १६ हजार १ सय ७५ केजी प्याजको बीउ, १ करोड ७ लाख बराबरको ९ सय ५० केजी इस्कुसको बीउ आयात भएको बीउ बिजन गुणस्तर केन्द्रले जनाएको छ ।
यस्तै केन्द्रका अनुसार ५ करोड १ लाख बराबरको २१ हजार ७ सय २४ केजी मूलाको बीउ, ४ लाख ५७ हजारको ३० केजी फर्सीको बीउ, ८ लाख २ हजारको ५० केजी गान्टे मूलाको बीउ, ३ करोड ६ लाख बराबरको ८ सय ६३ केजी खुर्सानीको बीउ, ४४ लाख ६३ हजारको क्याप्सीकनको बीउ नेपाल भित्रिएको छ ।
आठ करोड ४ लाखको ९ सय ४३ केजी टमाटरको बीउ भित्रिदा १५ लाख ६३ हजारको एक सय ९७ केजी भन्टाको बीउ, ३५ लाख ६० हजारको ३ हजार ८ सय केजी भिण्डीको बीउ, ५ करोड ३३ लाखको ५५ हजार ३ सय केजी बोडीको बीउ एक वर्ष भित्रमा भित्रिएको छ । त्यसै गरी यी बाहेकका अरू तरकारीका बीउ पनि धेरै आयात भएको छ ।
यता धान र मकैको बीउ आयातको कुरा गर्दा आर्थिक वर्ष २०७८/७९ मा ६७ करोड ८६ लाखको १९ लाख ३७ हजार २ सय १६ केजी मकैको बीउ आयात भएको छ । मकैको मूल बीउ अर्थात् प्रजनन बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बीउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेको छ ।
तर पछिल्लो समय किस उन्नत जात (हाइब्रिड) मकैका बीउमा आकर्षित हुँदा मकैको बीउमा परनिर्भरता ह्वात्तै बढेको हो । मकैको बीउ अर्जेन्टिना, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट आयात गरिन्छ । नेपालीका प्रमुख आहार धान पछि मकै हो ।
पहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश ग्रामीण जनताको दैनिक खाद्यान्न बाली मकै हो । मकैको बीउ आयातले स्थानीय जातको लोकल बीउलाई बहुराष्ट्रिय कम्पनीका बहु जातीय बीउले विस्थापित गर्ने सम्भावना बढेर गएको छ । मकैबाट पिठो बनाएर ढिँडो, रोटी, पुवा एवं अन्य परिकार खाने चलन छ । मकै पोलेर, उसिनेर र कलिलो मकै तरकारी बनाएर खाने चलन छ तर, पछिल्लो समय पशुपन्छीको दाना बनाउन मकै धेरै प्रयोग हुन थालेको छ ।
यस्तै धानको कुरा गर्दा एक वर्षमा १ अर्ब १७ करोड ३५ लाख बराबरको ३० लाख ७० हजार ९ सय ७० केजी बीउ आयात भएको छ । भने आर्थिक वर्ष २०७०/७१ देखि २०७७/७८ सम्म धानको बीउ मात्र ५ अर्ब ५३ करोड ३३ लाख ६५ हजार ३७ मूल्य आयात भएको छ । पछिल्लो समय किसानहरूमा हाइब्रिड जातको बीउ प्रति आकर्षित हुँदा बीउमा परनिर्भरता बढेको हो ।
नेपालमा हालसम्म दुई वटा हाइब्रिड धान बीउको विकास भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले हर्दिनाथ हाइब्रिड–१ र हर्दिनाथ हाइब्रिड–३ गरी दुई जात बीउ उत्पादन गरेको छ । धेरैजसो तराई क्षेत्रमा हाइब्रिड धानको हुन्छ ।
यस्तै आर्थिक वर्ष (आव) २०७७/७८ मा धान, मकै र विभिन्न जातका तरकारीका २ अर्ब ६७ करोड ३१ लाख रुपैयाँको बीउ आयात भएको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६१ करोड ४२ लाख रुपैयाँभन्दा बढीको ४१ लाख ६८ हजार ९ सय ५२ किलो धानको वर्णसंकर जातको बीउ आयात भएको छ ।
५१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको २१ लाख ८५ हजार ६ सय ९६ किलो मकै बीउ आयात भएको छ । त्यसै गरी, ५४ करोड ८१ लाख रुपैयाँभन्दा बढीको १ लाख ४४ हजार ४ सय ८९ किलो काउली, बन्दा, ब्रोकाउली, काँक्रो, गाँजर, मुला, भिँडी, गोलभेँडा, धनियाँ, भन्टा, तिते करेला, लौका, फर्सीलगायत ३४ किसिमका तरकारीको वर्णसंकर जातको बीउ आयात भएको छ ।
विदेशबाट आयात हुनेमध्ये सबभन्दा धेरै १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको ५३ हजार ४ सय २० किलो वर्णसंकर धनियाँको बीउ आयात भएको तथ्याङ्क छ । सरकारी तथ्यांकअनुसार नेपालका ६५ दशमलव ६ प्रतिशत जनता कृषिमा आबद्ध छन् ।
मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २५ प्रतिशत छ । देशको अर्थतन्त्रमा यति ठुलो अंश ओगटेको कृषिकर्मीका लागि आवश्यक पर्ने मुख्य वस्तु मल र बीउ दुवै हालसम्म आयातकै भरमा चलिरहेको छ । देशभित्रै सरकारी तथा निजी स्तरबाट सञ्चालित बीउ उत्पादन कम्पनी हुँदाहुँदै विदेशबाट बीउ आयात बढ्नुको मुख्य कारण अधिकांश वर्णसंकर (हाइब्रिड) बीउको उत्पादन नेपालमा नहुनु रहेको विज्ञ बताउँछन् ।
नेपालमा वार्षिक ४५ हजार मेट्रिक टन वर्णसंकर जात धानको बीउ आवश्यक पर्छ । तर, त्यसका करिब ९१ प्रतिशत आयात गर्नुपर्ने अवस्था छ । नेपालमा भारत, चीन, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, अमेरिका, इटाली, फ्रान्स, डेनमार्क लगायतका देशबाट बीउ झिकाइन्छ। त्यसमा भारतीय बीउको ८५ प्रतिशत हिस्सा छ।
कृषि रैबार । १४ भाद्र २०७९, मंगलवार