भेरीगंगा नगरपालिका सुर्खेतको आयोजना र भिएसओ नेपाल, राष्ट्रिय कृषक समूह महासङ्घ, युके एडको आर्थिक सहयोगमा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यशाला गोष्ठी सुर्खेतको भेरीगंगा छिन्चुमा सम्पन्न भएको छ।
भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त गोष्ठीमा नगर उपप्रमुख धनसरा बोहरा र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर ठाडाको विशेष आतिथ्यता रहेको थियो। राष्ट्रिय कृषक समूह महासंघ कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसी, वातावरण तथा विपद व्यवस्थापन विज्ञ खिम बहादुर रेग्मी, भिएसओ नेपालको प्रतिनिधि सुष्मा रेग्मी,कार्यपालिका सदस्य एवं वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शेरबहादुर कामी, भेरीगंगा नगरपालिका वडा नम्बर २ का सदस्य रामबहादुर डाँगी, वडा नम्बर २ का अध्यक्ष चिरंजीवी बुढा, विभिन्न शाखाका प्रमुखहरु, इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकाश केसी लगायतको आतिथ्यता रहेको थियो ।
गोष्ठीमा वन वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख कुलबहादुर खड्काले जलवायु परिवर्तनका कारण प्रभावित क्षेत्र, विभिन्न क्षेत्रमा देखापरेका असरहरू, समाधानका लागि नगरपालिकाबाट अपनाइएका नीति तथा कार्यक्रमहरू प्रस्तुत गरेका थिए । त्यस्तै वातावरण तथा विपद व्यवस्थापन विज्ञ खिमबहादुर रेग्मीद्वारा प्रस्तुत गरिएको प्रस्तुतिमा जलवायु परिवर्तनका कारण वातावरणीय प्रभावसँगै प्राकृतिक प्रकोपको वृद्धि, वातावरण संरक्षण र विपद जोखिम न्यूनीकरणमा के गर्ने ? के गर्नैपर्ने हो?, संवैधानिक हक अधिकार, कानुनी प्रावधान, दिगो व्यवस्थापनको लक्ष्य, स्थानीय तहमा कानुन निर्माण र व्यवस्थापन निर्माणको खाका, विपद व्यवस्थापनमा सार्वजनिक संस्था तथा व्यवसायिक प्रतिष्ठानको भूमिका, जलवायु अनुकूलता सिकाई केन्द्र स्थापना तथा सञ्चालनको खाका जस्ता विषयहरू समावेश गरिएको थियो ।
गोष्ठीमा धारणा राख्दै वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शेरबहादुर कामीले जलवायु परिवर्तनका कारण बालीनालीमा प्रभाव बढीरहेको, अतिवृष्टि अनावृष्टि भएको, खानेपानीको मुहान सुक्दै गएको, रोगहरूको प्रकोप बढीरहेकोले सबै सचेत हुन आग्रह गरे। साथै उनले विपद व्यवस्थापनमा खटिने सुरक्षा निकायलाई आवश्यक सामग्री सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक प्रकाश केसीले घटना जानकारी दिएर नघट्ने, घट्न सक्छ भनेर पूर्व सावधानी अपनाउनुपर्ने र वातावरण तथा विपद व्यवस्थापनमा सबैको सहकार्य आवश्यक हुने बताए । त्यस्तै जलवायु परिवर्तनका कारण अनौठा र नियन्त्रणमा कठिनाई हुने खालका रोगहरु देखा परिरहेको धारणा स्वास्थ्य शाखा प्रमुखले औलाए ।
भेरीगंगा नगरपालिका कृषि शाखाका प्रमुख सुरज बिसीले वातावरणीय प्रभावमा कृषि क्षेत्र र पशुपालन क्षेत्र बढी प्रभावित भएको, किरा तथा रोगको प्रकोप बढीरहेको, पानीको समस्या, वातावरणीय अनुकूलन कृषि उपज उत्पादन र प्रकोप प्रतिरोधी उत्पादन अभ्यास गर्नुपर्ने बताए । भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर ठाडाले नगरपालिका विपदको उच्च जोखिममा रहेकाले हुनसक्ने विपद न्यूनीकरणका लागि नगरपालिकाबाट प्रयास भइरहेको र शाखा तथा प्रभावित क्षेत्रबाट माग भए बमोजिम कार्य योजना बनाएर अगाडि बढ्ने जानकारी दिए ।
राष्ट्रिय कृषक समूह महासंघ कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसीले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा प्रभाव परिरहेको हुँदा बढी प्रभावित क्षेत्र पहिचान गरी सो क्षेत्रमा पर्यावरणीय कृषिका अभ्यासहरू गरिरहेको बताए । कार्यक्रमको समापन गर्दै गोष्ठीका सभाध्यक्ष एवं भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले जलवायु परिवर्तनमा विकसित र विकासन्मुख राष्ट्रहरूको बढी मात्रामा योगदान रहेको र कम विकसित र अविकसित राष्ट्रहरु त्यसको प्रत्यक्ष सिकार भइरहेको परिपेक्षमा नेपाल पनि त्यसैको हिस्सा बनिरहेको बताए ।
विभिन्न प्रकारका उद्योगधन्दा, कलकारखाना तथा आणविक वस्तु रसायन उद्योगहरू शक्ति सम्पन्न राष्ट्रमा उत्पादन हुने, वातावरणीय श्रृंखलामा तिनै राष्ट्रले बिगार्ने र अन्य साना राष्ट्रहरुमा सहयोगको नाममा मुख बन्द गर्ने गराउने परिपाटीका कारण हाम्रो जस्तो धेरै राष्ट्रहरु चुप लाग्नुको विकल्प नरहेको बताए । तैपनि आफ्नो पालिकाले विपद जोखिम न्यूनीकरणमा कार्ययोजना बनाएर अगाडि बढिरहेको, कोष र समिति मार्फत जनतामुखी काम गरिरहेको, सीमित स्रोत साधन भएका कारण अपेक्षित काम गर्न नसकेको र आवश्यक सामग्री व्यवस्थापनका निम्ति सरोकारवाला निकायसँग समन्वयन सहकार्य भइरहेको बताए ।
गोष्ठीको सहजीकरण सिर्जनशील क्लबका अध्यक्ष त्रिभुवन बिसीले गरेका थिए भने विभिन्न क्षेत्रका ३५ जना बढीको सक्रिय उपस्थिति रहेको थियो ।



कृषि रैबार । ३० माघ २०८२, बिहीबार