पशुपंक्षी औषधि व्यवसायी सङ्घको साधारणसभा सम्पन्न, टेक प्रसाद आचार्यको नेतृत्वमा ११ सदस्यीय समिति चयन

सुर्खेत । नेपाल पशुपंक्षी औषधि व्यवसायी सङ्घ, कर्णाली प्रदेश समितिको चौथो अधिवेशन तथा वार्षिक साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ।

कर्णाली प्रदेश समितिका अध्यक्ष प्रेम बहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा नेपाल पशुपंक्षी औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष रितेश रिमालको प्रमुख आतिथ्यता रहेको थियो । प्रथम केन्द्रिय महिला उपाध्यक्ष सोना सुवेदी बडालको विशेष आतिथ्यता रहेको कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद पाण्डे। क्षेत्रीय पशुपंक्षी प्रयोगशालाका डा.अर्जुन पण्डित, धर्मराज रेग्मी, पशुपंक्षी विकास मन्त्रालयका डा.रिसभ गुरागाई, डा.अनुप श्रेष्ठ, नेपाल भेटेरीनरी एसोसिएसनका डा.उमेश गिरी, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा. मदनमणि सापकोटा, कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रका धनबहादुर कठायत लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य पूर्णप्रसाद पाण्डेले पशुपंक्षी औषधि व्यवसाय सञ्चालनका क्रममा देखा परेका समस्याहरू समाधानका लागि र कानुनी मान्यता प्राप्तका लागि संघ व्यवसायी केन्द्रित भएर लागिरहेको बताए ।त्यस्तै कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रका धनबहादुर कठायतले औषधिको बिक्री वितरण कानुनी मान्यता नलिई गर्न नपाइने स्पष्ट कानुनी प्रावधान रहेकाले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वयन सहकार्य गरेर कानुन सम्मत भई व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रमका विशेष अतिथि एवं पशुपंक्षी औषधि व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष सोना सुवेदी बडालले संघबाट कर्णालीलाई विशेष ग्राहयताका साथ सम्बोधन गरिरहेकाले व्यवसायीका समस्या समाधानका निम्ति सम्पूर्ण पशुपंक्षी औषधि व्यवसायीहरू संघमा आबद्ध हुन र सांगठनिक रुपमा अगाडि बढ्न समेत आग्रह गरिन्।

कार्यक्रममा प्रमुख अतिथि पशुपंक्षी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष रितेश रिमालले राज्यबाट कर्णालीका व्यवसायीलाई काठमाडौंका व्यवसायी बराबर दाजोमा लिन नहुने बताए । उनले राज्यले औषधि विभागमा दर्ता नभएकाले व्यवसाय संचालन नगर भन्ने तर वर्षौ देखि करोडौ लगानी गरिरहेका व्यवसायीको बारेमा नसोच्नु गलत भएको र सिमित व्यवसायीले किसानको माग पूर्ति गर्न नसक्ने बताए । उनले संघबाट तालिम र परीक्षा व्यवसायीमुखी बनाउनका लागि, हाल राज्यबाट स्थापित समान नजिर विस्थापित गर्नका लागि, व्यवसायीको हकहितका निम्ति साझा धारणा बनाउने गरी सबै सरोकारवालासँग समन्वयन गरेर अघि बढ्ने बताए।

उद्घाटन सत्रको समापन गर्दै संघका प्रदेश कमिटी अध्यक्ष प्रेम बहादुर बिकले पशुपंक्षी औषधि व्यवसायी तालिम नलिएका व्यवसायीहरूलाई तालिमको व्यवस्थापन गर्न र तालिम लिइसकेका व्यवसायीहरुलाई तत्काल परीक्षाको प्रावधानका लागि आवश्यक सहयोग गर्न सरोकारवाला सबैसँग अनुरोध गरे ।


कमिटी पुनः गठन
संघको चौथो अधिवेशनबाट टेकप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय समिति पुनर्गठन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा सावित्रा चन्द, द्वितीय उपाध्यक्षमा रत्नप्रसाद गौतम, सचिवमा यज्ञ प्रसाद आचार्य, सहसचिवमा कृष्णप्रसाद भट्टराई र कोषाध्यक्षमा डिलबहादुर ओली चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रत्नबहादुर दर्लामी, लालबहादुर बिक, कमल कार्की, टोपनारायण गैरे र काशीराम शर्मा चयन भएका छन् ।

पुनर्गठन गरिएको समिति निर्विरोध रुपमा चयन गरिएको संस्थापक अध्यक्ष एवं सल्लाहकार डिल्लीप्रसाद पाण्डेले जानकारी दिए ।

कार्यक्रममा कर्णाली प्रदेशका ७० बढी व्यवसायी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया