कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित प्रदेश अस्पताल बाहिरबाट हेर्दा सुकिलो मुकिलो देखिएपनि आफै विरामी अवस्थामा रहेको पाइएको छ ।
नेतृत्व परिवर्तन पछि जनताले थप परिवर्तनहरुको अपेक्षा राखेपनी अपेक्षित सुधार हुन नसकेको प्रदेश अस्पतालमा सेवा लिन जाने अधिकांश सेवाग्राहीको गुनासो रहेको छ । बहिरंग सेवा अन्तरगत रहेका धेरै जसो बिभागमा विशेषज्ञ डाक्टरहरुको सट्टा मेडिकल अधिकृत र इन्टर्न डाक्टरहरुले सेवा दिइरहेका, अत्याधिक चाप हुने बिभागमा १ २ जना डाक्टरहरुको मात्र उपस्थिति, डिउटीमा खटिएका स्वास्थ्यकर्मीहरु बिरामी तथा कुरुवासङ्ग झर्किने तथा रिसाउने, गेट तथा अस्पताल परिसरमा रहेका सुरक्षा गार्डहरुबाट बिरामी बोकेका अटो चालकले हैरानी खेप्ने, रिपोर्ट समयसम्म नआउनाले १ दिनमा सकिने कामका लागि २-३ दिन लाग्ने जस्ता कुराहरु त्यहा अस्पतालमा जाने व्यक्तिहरुले कृषि रैवारलाई बताए ।
जेष्ठ १३ गते देखि बिग्रेको एक्सरे मेसिन एकहप्ता बितिसक्दा पनि संचालनमा आउन नसकेका कारण बिरामीहरुले अन्यत्रबाट एक्सरे गरेर पुन: देखाउनका लागि सोही अस्पतालमा आउने गरेको नाम नबताउने सर्तमा त्यहा कार्यरत कर्मचारीले जानकारी दिए । हाड जोर्नी तथा नसा रोग बिभागमा दैनिक २५० भन्दा बढि बिरामीको चाप हुने तथा धेरैको एक्सरे गर्नुपर्ने हुन्छ तर एक्सरे मेसिन बिग्रदा सेवाग्राहीलाई परेको समस्यामा भने अस्पताल प्रशासन मौन जस्तै देखिएको छ ।
मेसिन बन्न कति समय लाग्छ भन्ने प्रश्नमा एक्सरे बिभागका कर्मचारीले पनि अनभिज्ञता जनाए । सामान्य बिरामीहरु अन्यत्र गएर पनि एक्सरे गरेर पुन: चेकजाँचका लागि त्यही जान सक्छन् तर आकस्मिक विरामीका लागि समेत एक्सरे मेसिन बिग्रदा समस्या भइरहेको आकस्मिक कक्षमा कार्यरत कर्मचारीहरु बताउछन् ।
कृषि रैबार । २१ जेष्ठ २०८२, मंगलवार