कर्णालीका हरेक झारपात जडिबुटी, खोजमुलक उद्धम गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा वलीले कर्णाली प्रदेश जैविक विविधतामा प्रधान रहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको सुर्खेतमा सम्पन्न तेस्रो दिक्षान्त समारोहमा बोल्दै उनले प्रदेशमा हरेक किसिमका जीवजन्तू, बनस्पति, जडिबुटीहरुको खानी भएकाले विश्वविद्यालयबाट दिक्षित भएर जाने सबैले अरुकोमा जागिर खोज्नु भन्दा आफै खोजमुलक उद्धममा लाग्न जोड दिए ।

तेस्रो दिक्षान्त समारोहबाट ३ हजार ८ सय ४१ जना विद्यार्थी दिक्षित हुनु परिवार र स्वयं विद्यार्थीहरुका लागि ठूलो उपलब्धि भए पनि अबको बाटो विदेश केन्द्रित भन्दा पनि स्वदेशमै स्वरोजगार बनी समृद्ध राष्ट्र निर्माण तर्फ अग्रसर हुन आग्रह गरे ।

कर्णालीमा रहेका हरेक घाँस पातमा जडिबुटीको गुण भएकाले चिन्न र प्रयोगमा ल्याउन उचित ज्ञान र सिपको आवश्यकता रहेकाले विश्वविद्यालयले उद्यम र अनुसन्धानात्मक शिक्षामा जोड दिएर अगाडि बढ्न सके उत्पादित जनशक्तिको पनि सहि सदुपयोग हुने र विश्वविद्यालय तर्फ अझै बढि विद्यार्थीहरुको आकर्षण बढ्ने कुलपति एवम् नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलिले बताए ।


हरेक कुरामा हालको कर्णाली प्रदेश पौराणिक कालदेखिनै अगाडि रहेको, नेपाली भाषाको उद्द्गम स्थल पनि यहि क्षेत्र भएको र महाभारतमा समेत यसै क्षेत्रका खस वर्गहरुले युद्ध गरेको ईतिहास भएकाले यो क्षेत्रका हरेक नागरिकहरु खास भएको र नेपालको बाइसे-चौविसे राज्य एकीकरणको सवालमा पनि गर्विलो इतिहास बोकेकाले विश्वविद्यालयबाट दिक्षित भएर निस्कने विद्यार्थीहरुले आफुले प्राप्त गरेको शिक्षाको यहि क्षेत्रमै सदुपयोग गर्न समारोहका अध्यक्ष विश्वविद्यालयका कुलपती एवम् सरकारका प्रधानमन्त्री ओलिले सुझाए ।


विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा आयोजित उक्त समारोह सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीज्यूको अध्यक्षता, सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवं जवाहरलाल नेहरु विश्वविद्यालय, भारतका प्रा.डा.महेन्द्र पी लामाज्यूको प्रमुख आतिथ्यता तथा विश्वविद्यालयका उपकुलपति प्रा। डा। ध्रुवकुमार गौतमज्यूको उपस्थितिमा सम्पन्न भएको हो।


समारोहमा बोल्दै सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कर्णाली प्रदेशको सभ्यताको इतिहास लामो रहेको जनाउदै दीक्षित विद्यार्थीहरुले समाज र देशको हितमा सदैब आफुले योगदान दिदै थप प्रगति पथमा अघि बढ्न आग्रह गरे ।


त्यस्तै समारोहका प्रमुख अतिथि प्रा.डा.महेन्द्र पी. लामाले दीक्षित विद्यार्थीहरुलाई प्रेरणादाई मन्तव्य प्रस्तुत गरेका थिए। उनले मध्यपश्चिम विश्वविद्यालयले आफ्नो विशेष किसिमको पहिचान बनाउदै अगाडी बढ्ने अवसर रहेको बताएका थिए भने दीक्षित विद्यार्थीहरुलाई कठिनाईका पर्खालहरु भत्काउदै सम्मुन्नतको बाटोमा अगाडी बढ्न अपिल गरे ।


समारोहमा उपकुलपति प्रा.डा.ध्रुवकुमार गौतमले स्वागत मन्तव्य राख्दै मध्यपश्चिम विश्वविद्यालयको वर्तमान अवस्था, कार्यक्रम र भावी योजनाहरु प्रस्तुत गरेका थिए । समारोहको संचालन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले गरेका थिए ।

दिक्षान्त समारोह सुरु हुनु पुर्व मध्यपश्चिम विश्वविद्यालयको सोह्रौं सभाको बैठक सम्पन्न भएको थियो । समारोहमा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कडेल, कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, विश्वविद्यालय सभाका सभासदहरु, अन्य पदाधिकारीहरु, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


२३ गते सम्पन्न मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा कुलपतिको रुपमा उपस्थित भएका ओलिले दिक्षान्त समारोहपछी इन्जिनियरिङ संकायको भवनको उद्घाटन गरि कर्णाली प्रदेश सभामा विषेश सम्बोधन गरेका थिए भने समय अभाबका कारण वीरेन्द्रनगरमा निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको कर्णाली रङ्गशालाको अनुगमन नगरी काठमाडौ फिर्ता भएका थिए ।

तपाईको प्रतिक्रिया