सुर्खेतको लेकबेसी नगरपालिकाबाट बर्गिकरण सहितको किसान परिचयपत्र बितरण कार्य सुरु गरिएको छ । परिचय पत्र बितरणका लागि लेकबेसी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघ नेपाल, भिएसओ नेपाल र यूकेआईडी को सहकार्यमा रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख उमेश कुमार पौडेलले किसानहरुको स्तर पहिचान र प्रभावकारी सेवालाई सहज होस् भन्ने उद्देश्यले किसानको बर्गिकरण सहितको विवरण तयार गरेर बितरण गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कृषहरुको परिचय पत्रको काम किसानहरुको हितमा रहेको बताए । उनले भने “किसनहरुका पक्षमा नगरपालिकाले त काम गर्यो गर्यो नगरपालिकाको काममा अन्य संघ सस्थाले समेत साथ दिएर किसानहरुको पक्षमा काम गरेका छन” ।

कार्यक्रमका सहजकर्ता टिका चालिसेले बर्गिकरण सहितको परिचयपत्र बितरण कर्णाली प्रदेशमै पहिलो भएको बताईन । उनले भनिन किसानहरुलाई रातो कार्ड, सेतो कार्ड, पहेलो कार्ड र निलो कार्ड गरी ४ भागमा बर्गिकरण गरिएको छ । रातो कार्डधारी किसानले ९० प्रतिशत सुविधा पाउने छन भने सेता कार्ड प्राप्त गर्ने किसानले ७५ प्रतिशत, पहेलो कार्ड प्राप्त गर्ने किसानले ५० प्रतिशत र निलो कार्ड प्राप्त गर्ने किसानले २५ प्रतिशत सेवा सुविधा पाउने छन् ।
चालिसेका अनुसार हाल लेकबेसी नगरपालिका वडा नम्बर १ का किसानबाट काम सुरु भएको छ र यसलाई तत्काल अन्य वडाहरुमा पनी बितरण गरिने छ । नगरपालिकाको आयोजनालाई सहयोग गर्दै अन्य संघसस्थाले पनी साथ दिएर परियच–पत्र पाएको भन्दै हर्षित बनेका किसानले अब किसानहरुका सुख्खका दिन सुरु भएको बताएका छन् । कार्यक्रममा सहभागी एक किसानले सबैको सहयोगमा परिचय–पत्र प्राप्त भएको तर निष्पक्ष रुपमा काम भयो भने किसानहरुका दिन बदलिने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमलाल लामिछाने, राष्ट्रिय कृषक समुह महासंघ नेपालका निवर्तमान अध्यक्ष नवराज बस्नेत, महासचिव महेन्द्र सापकोटा, लेकबेसी नगरपालिकाका उपप्रमुख बिमला खडलुक, कृषक प्रतिनिधी लाल बहादुर बडुवाल, राष्ट्रिय कृषक समुह महासंघ नेपालका कार्यकरी अधिकृत उत्सव जिसी सहितको सहभागिता रहेको थियो ।
#स्रोत: लाइका खबर


कृषि रैबार । ७ चैत्र २०८०, बुधबार