कृषि रैवार सम्बाददाता, सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाको पशुपन्छी विकास शाखावाट पशुपालक कृषकहरुलाई बितरण गरेको बर्सिम घासको बीउमा व्यापक अनियमितता भएको पाइएको छ । घासको बीउ बजारको चलनचल्ति मुल्य भन्दा १ सय रुपैया बढीमा बितरण गरेको पाईएको हो ।

शाखाको आर्थिक बर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बर्सिम घासको बीउ शाखाले प्रती केजि ४ सय रुपैयामा बितरण गरेको हो । अनुदान बापत कृषकको ५० प्रतिशत रकम र नगरपालिकाको ५० प्रतिशत रकम मध्ये किसानले २ सय रुपैया नगरपालिकामा जम्मा गरि बीउ पाएका हुन् । तर शाखाले बितरण गरेको बर्सिम घासको बजार मुल्य ३ सय रुपैया रहेको छ ।
नगरपालिकाले कृषकलाई सहुलियत रुपमा बिउ बितरण गर्नुको साटो बजार मुल्य भन्दा १ सय रुपैया बढीमा बिउ बितरण गरेको कृषकहरुको गुनासो छ । बजारमा ३ सय खुद्रा मुल्यमा बिक्री भैरहेको बर्षिम घाँस नगरपालिकाले ४ सय मुल्य बिर्धारण गरि कृषकलाई ठगी गरिरहेको नाम नखुलाउने सर्तमा एक कृषकले बताए । धेरै परिमाणमा घासको बीउ खरिद गर्दा बजार भाउ भन्दा नगरपालिकामा अझै सस्तो पर्नुको साटो अझै मूल्य बढी भएको र शाखामा पटक पटक बीउ बितरण गर्दा पनि धेरै किसानले बीउ नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

कोटेशन प्रणालीबाट सामान खरिद गरिनु, बजार मुल्यभन्दा बढिमा सामान खरिद गरि किसानलाई नाम मात्रको अनुदानमा सरिक बनाउनु, सामाग्री खरिद प्रक्रियामा कमिसनको खेल हुनु त चलन चल्तीका विषय भएपनी नियमन गर्ने निकायको नजर नपरेका कारण मनपरी गर्ने प्रथा चलिरहेको व्यवसायी बताउँछन् । यो विषयमा बजारमा बर्सिम घासको बीउको बजार मुल्य यो बर्ष ३ सयमा एग्रो भेटहरुले बिक्री गरिरहेको नेपाल बिउ ब्यवसायी कर्णाली प्रदेशका अध्यक्ष श्रीप्रसाद आचार्यले बताए ।

उता पशुपन्छी विकास शाखाले भने ग्रेडिङ्ग गरेको बीउ, गुणस्तरीय बीउ बितरण गरेकाले महङ्गो परेको हुनसक्ने बताए पनि शाखाबाट बितरण गरिएको बीउ र बजारको बीउमा भने कुनै फरक नरहेको बीउ प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका वडा न. ०४ का किसान कपिल पौडेल बताउछन् ।


कृषि रैबार । २ कार्तिक २०८०, बिहीबार