विनोद कंडेल, सुर्खेत
इन्टर्नबाट फर्किएका बेरोजगार कृषि प्राविधिकहरुलाई व्यवसायिक योजना निर्माण सम्बन्धी ३ दिवसिय दोस्रो लटको तालिम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।
भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशको स्विकृत वार्षिक कार्यक्रम अनुरुप प्रदेश भित्र प्राविधिक शिक्षा अध्ययन गरेका विभिन्न जिल्लाका बेरोजगार युवाहरुबाट प्रस्ताव माग गरि सो मध्यबाट छनौटमा परेका करिव २४ जना सहभागीहरुलाई केन्द्रित गरेर कृषि तथा पशुपन्छी व्यवसाय प्रबर्द्धन प्रशिक्षण केन्द्र, कर्णाली प्रदेशको आयोजनामा उक्त तालिम सम्पन्न गरिएको हो ।
प्रशिक्षण केन्द्रका प्रमुख पदम बहादुर सुवेदीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा गङ्गाराम दाहाल र कमल लम्सालले सहजीकरण गरेका थिए ।
तालिमको संयोजन कृषि प्रसार अधिकृत विद्या गौतमले गरेकी थिइन् भने पशु विकास अधिकृत कपिल प्रसाद उपाध्याय, पशु चिकित्सक दिपक भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
बेरोजगार कृषि प्राबिधिकहरुको ५० प्रतिशत लगानी र मन्त्रालयको ५० प्रतिशत लगानीमा संचालन गरिने उद्यममा, छनौटमा परेका युवाहरुले नै आफ्नो रोजाइको व्यवसाय गर्न पाउने र व्यवसाय दिगो रुपमा अगाडि बढाउनका लागि के कस्ता कार्य योजना बनाउने अनि कसरी अवलम्बन गर्ने भन्ने मुख्य विषयवस्तुमा केन्द्रित रहेर तालिम संचालन गरिएको कार्यक्रमका सभापती एवम् प्रशिक्षण केन्द्रका प्रमुख पदम बहादुर सुवेदीले जानकारी दिए ।
कृषि रैबार । ९ जेष्ठ २०८०, मंगलवार