विनोद कंडेल, सुर्खेत
अखिल नेपाल किसान महासङ्घ, जिल्ला कमिटी सुर्खेतको आयोजनामा बृहत् विचार गोष्ठी सम्पन्न भएको छ । महासंघको ७३ औं स्थापना दिबसको अवसर पारेर नबिनतम सोच र शैलिमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला कमिटीका अध्यक्ष बिनोद कुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश ईन्चार्ज प्रदेश सभा सदस्य यामलाल कडेलको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै बिशेष अतिथीका रुपमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अमृत बहादुर बिसि , कृषि विकास निर्देशनालयका निर्देशक चित्र बहादुर रोकाय , पशुपन्छी विकास निर्देशनालयका नि. प्रमुख मोहन गिरी रहेका थिए भने अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेश कमिटीका सचीव धर्मराज ढुंगाना , उपसचिव देब प्रसाद तिवारी ,कोषाध्यक्ष गगन ब. शाही ,सुर्खेत जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, जिल्ला कमिटी सदस्य शसिराम आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश कमिटीका सचिव धर्मराज ढुंगानाले प्रदेश भरी कागजी र झोले किसानहरुको बिगबिगी रहेकाले सेवा प्रदायक निकायलाई वास्तविक किसानको पहिचान गरेर मात्र कार्यक्रम उपलब्ध गराउन अनुरोध गरे । उनले किसानका समस्यालाई हल गर्नका लागि पाटीले अपनत्व लिनुपर्ने र पछिल्लो समय देखा परेका मल, बीउ, बजार जस्ता प्रमुख समस्या निराकरण गर्नका लागि सवै संगठनमा गोलवद्ध भएर सहकार्य गर्नुपर्ने आवश्यकता औल्याए ।

पशुपन्छी विकास निर्देशनालयका निमित्त प्रमुख मोहन गिरीले कार्यालयले प्रवाह गर्ने सेवाको सन्दर्भमा १० वटै जिल्लाका स्थानिय तहहरुलाई समयमा नै सुचना सम्पेषण गर्ने गरेको बताए । अनुदानका कार्यक्रमका सन्दर्भमा विचौलियाको समस्या हल गर्नका लागि सामुहिक रुपमा सबै किसान सचेत हुनु पर्ने जानकारी दिए ।

त्यस्तै स्थानिय तहहरुले कार्यक्रम संचालनका क्रममा समन्वय नगर्ने गरेको आरोप लगाए । आफ्नो कार्यालयले किसानको मुहारमा चमक र दैनिक जीवनयापनमा सुधार होस् भन्ने उद्देश्यले कार्य गरिरहेको र महासङ्घलाई लिखित रुपमा आ.व. २०८०/८१ का लागि कार्यक्रम माग गर्न अनुरोध गरे ।

कार्यक्रमका विशेष अतिथी एवम् कृषि विकास निर्देशनालय, कर्णाली प्रदेशका निर्देशक चित्रबहादुर रोकायले कृषि क्षेत्र सवैको उपेक्षामा पर्ने गरेको बताए । संघीयता पछाडी कृषि क्षेत्रमा धेरै उपलब्धीहरु देखिए पनी किसानका हकहितका निम्ति आउने कार्यक्रमका लागि कुनैपनी दलले अपनत्व नलिएको जनाए ।

वार्षिक रुपमा ३/४ सय जना भन्दा बढि कृषकहरुलाई कार्यालयले कुनै न कुनै कार्यक्रममा प्रत्यक्ष समेटिरहेको छ । उनले भने कृषक केन्द्रित हकहित प्रोत्साहनका निम्ति निर्देशनालय सदैव प्रतिबद्ध रहेकाले राजनितिक दलहरुले समस्या उठान गरि सम्बोधनका निम्ति कार्यालयमा आए सदैव अग्रसर भएर समाधानका लागि लाग्ने छौ ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश ईन्चार्ज प्रदेश सभा सदस्य यामलाल कडेलले समुहगत रुपमा कृषकहरु एकजुट भएर लागे मात्र वर्तमान समयमा देखा परेका समस्या सहजै हल हुने बताए । महासङ्घले बोल्ने भन्दा प्रत्यक्ष देखिने र अनुभव गर्न सकिने खालका गतिविधिहरु उठान गर्न सल्लाह दिए ।

काम प्रती सम्मान नभएकाले आज लाखौ युवाहरु विदेशी भुमिमा खेत बारिमा काम गरिरहेको अवस्थामा अब सवैजना मिलेर व्यवसायी खेती तर्फ अग्रसर हुदै फरक फरक उत्पादन गर्नुपर्ने बताए । उनले वीरेन्द्रनगर हाट बजारले विचौलियाको काम गरिरहेको र किसानसङ्ग कम भन्दा कम मुल्यमा सामान खरिद गरी उपभोक्तालाई बढी मुल्यमा उपज बेच्ने गरेको प्रथालाई तत्काल रोक्नु पर्ने र सो का लागि निर्देशनालयले कडाइका साथ अनुगमन गर्न सुझाए । प्रत्येक वडामा हाट बजार आजको प्रमुख आवश्यकता भएकाले वडा स्तरीय हाट बजार संचालनका लागि सबै अग्रसर भएर लाग्नुपर्ने र आफ्नो क्षेत्रबाट सो कुरामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष विष्णु खड्काले स्वागत मन्तव्य राखेकी थिइन भने गज बहादुर बुढाले उक्त कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रममा २ सय ५० बढी किसानहरुको सक्रिय सहभागिता रहेको थियो ।



कृषि रैबार । १७ बैशाख २०८०, आईतवार