सुरु भयो महोत्सव

विनोद कंडेल, जीवराज अधिकारी
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा नविनतम् प्रविधि प्रर्दशनी मेलाको सुरुवात भएको छ ।

कर्णाली प्रदेश भित्र रहेका लघु घरेलु तथा साना उद्योगको बजार प्रवद्र्धन एवं रोजगारी सृजना गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले उक्त मेलाको आयोजना गरेको हो । मेलाको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि तथा वन पैदावरमा आधारित मझौला तथा साना उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर प्रबर्द्धनको काम गर्ने बताए ।

साथै उद्योगको विकाससँगै रोजगारी र कर्णालीबासीलाई स्वरोजगार बनाउने प्रदेश सरकारको उद्देश्यलाई साथ दिन उद्योग संचालकहरुलाई आग्रह गरे । औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक पर्ने विद्युतको सहजताका लागि भुरीगाउँ–कर्णाली करिडोर र भेरी करिडोरलाई मुख्य प्राथमिकता दिदै आवश्यक अन्य स्थानमा सडकहरुको विकास गर्ने बताए । मेलामा लघु घरेलु तथा साना उद्यमी व्यवसायीहरुले तयार पारेका राडीपाखी, ऊनी, अल्लो तथा गाँजाबाट बनेका कपडाहरु, ढाका, काठ, धातु, बास र बेतबाँसबाट तयार गरिएका वस्तुहरु प्रर्दशनीका आकर्षण रहेका छन् ।

करिव ५ लाख दर्शकबाट अवलोकन गरिने र मेलामा करिब ४ करोड रुपैयाँको कारोवार हुने अपेक्षा राखिएको मुल आयोजक समितिले जनाएको छ । मेला माघ २८ गतेसम्म संचालन हुने र सो अबधिभर स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने मेला आयोजक समितिका संयोजक चन्द्रबहादुर विसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया