किसानका मुद्दा उठाउने सङ्कल्पसहित महासङ्घको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गगनबहादुर शाही चयन

वीरेन्द्रनगर, सुर्खेत । अखिल नेपाल किसान महासङ्घ कर्णाली प्रदेश कमिटीको दोस्रो प्रदेश अधिवेशन किसानका समस्या समाधान, कृषि क्षेत्रको विकास र सङ्गठन सुदृढीकरणमा जोड दिँदै सम्पन्न भएको छ। अधिवेशनले गगनबहादुर शाहीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ प्रदेश कमिटीसमेत गठन गरेको छ।

नवगठित कमिटीको उपाध्यक्षमा सुशीला गौतम र जगतबहादुर भियाल, सचिवमा विनोद कंडेल तथा सहसचिवमा नमराज थापा र चंखबहादुर कार्की चयन भएका छन्। कमिटीमा ४५ जना सदस्य रहेका छन्।

 

महासङ्घका कर्णाली प्रदेश अध्यक्ष बखतबहादुर भण्डारीको अध्यक्षता तथा महासङ्घका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य डा. प्रेम दङ्गालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं किसान फाँट इन्चार्ज तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपाने, महासङ्घका केन्द्रीय महासचिव एवं नेकपा एमाले केन्द्रीय सदस्य सरिता भुसाल र नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाह विशेष अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपसचिव रवीन्द्रराज शर्मा, नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री तथा महासङ्घका कर्णाली प्रदेश इन्चार्ज कलबहादुर हमाल, महासङ्घका केन्द्रीय सदस्यहरू मीना आचार्य, मीना शाही, निरक ओली, सीता शाही, दुर्गा सिंह तथा अखिल नेपाल महिला सङ्घ सुर्खेतकी अध्यक्ष टीका अधिकारीलगायतको आतिथ्यता रहेको थियो। अधिवेशनमा कर्णाली प्रदेशका दशवटै जिल्लाबाट आएका प्रतिनिधिसहित २०० भन्दा बढीको सहभागिता थियो।

अधिवेशनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालले किसानका वास्तविक समस्या सम्बोधन हुने गरी योजना तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए। किसानका पक्षमा अनुभूत हुने गरी योजना निर्माण र कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आवश्यक योजना भएका किसान तथा सम्बन्धित पक्षलाई मङ्सिर मसान्तभित्र मन्त्रालयमा प्रस्ताव पेस गर्न अनुरोध गरे।

अखिल नेपाल महिला सङ्घ सुर्खेतकी अध्यक्ष टीका अधिकारीले कृषि क्षेत्र सबैको साझा सरोकारको विषय भएकाले यसको विकासका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। मूल पार्टीले किसान सङ्गठनलाई अपनत्व लिनुपर्ने र भ्रातृ सङ्गठनहरू पार्टीको नीति तथा निर्देशनअनुसार अघि बढ्दै किसानका मुद्दालाई योजना निर्माण र कार्यान्वयनको तहसम्म पुर्‍याउन सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

 

नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाहले किसानका माग र मुद्दालाई प्राथमिकताका साथ उठाउने पार्टी नेकपा एमाले रहेको बताए। किसान र कृषि क्षेत्रलाई प्राथमिकता दिएका मुलुकहरू समृद्धिको यात्रामा अघि बढेको उल्लेख गर्दै उनले राष्ट्रको समृद्धिका लागि कृषि क्षेत्रलाई उच्च महत्त्व दिनुपर्ने बताए। पार्टीले महासङ्घको स्थापना कालदेखि नै महत्त्व दिँदै आएको र आगामी दिनमा पनि किसानका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले महासङ्घ पार्टीको महत्त्वपूर्ण सङ्गठनात्मक हिस्सा भएको धारणा राखे।

महासङ्घका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य डा. प्रेम दङ्गालले किसानका माग, मुद्दा र समस्या पहिचान गरी योजनासहित सम्बोधनका लागि महासङ्घ निरन्तर अग्रसर रहेको बताए। सामाजिक न्याय र उत्पादकत्व वृद्धि सङ्गठनको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै उनले विषयगत सङ्गठनमार्फत उठेका समस्याको समाधानका लागि सहजीकरण गर्दै आएको बताए।

कृषि क्षेत्र संरचनागत समस्याले ग्रसित क्षेत्रमध्ये एक रहेको बताउँदै दङ्गालले किसानका समस्या समाधानका लागि नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको औँल्याए। किसानका मुद्दा उठाउँदै जाँदा नेकपा एमालेले पनि तिनको अपनत्व लिएर थप अग्रसरता देखाउनुपर्ने उनको भनाइ थियो। उनले वर्तमान सरकारले किसानका मुद्दामा आवश्यक चासो नदिएको र उल्टै बजेट तथा कार्यक्रम कटौती गरेको आरोपसमेत लगाए।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं किसान फाँट इन्चार्ज गिरीधारीलाल न्यौपानेले किसानका मुद्दामा केन्द्रित भएर काम गर्ने कम्युनिस्ट राजनीतिक दलमध्ये नेकपा एमाले प्रमुख शक्ति भएको बताए। कर्णालीका कृषि उत्पादनले उचित बजार मूल्य पाउने गरी स्थानीय तहबाटै योजना तथा मुद्दा निर्माण गरी सशक्त रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए।

 

अधिवेशनका सभाध्यक्ष एवं महासङ्घका कर्णाली प्रदेश अध्यक्ष बखतबहादुर भण्डारीले किसान महासङ्घ राजनीतिक, सङ्गठनात्मक र आर्थिक दृष्टिले महत्त्वपूर्ण सङ्गठन भएको उल्लेख गर्दै यसको प्रभावकारी सञ्चालनमा पार्टीको अपनत्व र जिम्मेवारी महत्त्वपूर्ण रहने बताए। किसानका मुद्दामा प्रत्यक्ष सरोकार राख्दै समस्या समाधानका लागि महासङ्घले योजनाबद्ध रूपमा सहजीकरणको भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो। उनले अधिवेशन सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि, अतिथि तथा प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गरे।

अधिवेशनमा सहभागी वक्ताहरूले कृषि क्षेत्रको विकास, किसानका समस्या समाधान, उत्पादनको उचित मूल्य र बजार सुनिश्चितता, सङ्गठनात्मक सुदृढीकरण तथा किसानका मुद्दालाई पार्टी र राज्यका नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने विषयलाई प्रमुखताका साथ उठाएका थिए।

नयाँ नेतृत्व चयनसँगै सम्पन्न अधिवेशनले कर्णालीको कृषि क्षेत्रको विकास, श्रमजीवी किसानका समस्या समाधान र किसानका हकहितका पक्षमा सङ्गठनात्मक एकता, नीतिगत पैरवी तथा व्यावहारिक पहललाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया