सुर्खेत, असोज ३ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगर–१६, घ्युपोखरी (भ्युचुला), सुर्खेतमा आयोजित पशु स्वास्थ्य शिविर तथा सद्भावपूर्ण वनभोज कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ८० जनाभन्दा बढी पशुपालक किसानलाई पशुवस्तुका लागि आवश्यक औषधि वितरण गरिएको थियो। शिविरमा ५० भन्दा बढी कुकुरलाई रेविजविरुद्धको खोप, २०० भन्दा बढी खसी–बाख्रालाई जुकाको औषधि तथा आवश्यक अन्य खोप र औषधि उपलब्ध गराइएको आयोजकले जनाएको छ।

कार्यक्रममा ४० जना एग्रोभेट व्यवसायी समेत सहभागी भएका थिए। पशु स्वास्थ्य सेवा, औषधिको उचित प्रयोग तथा पशुपालन क्षेत्रमा आवश्यक सहकार्यका विषयमा समेत सहभागीबीच छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पशु अस्पताल तथा पशु सेवा कार्यालय, सुर्खेतका प्रमुख डा. ऋषव गुरागाईंले पशु कार्यालयले गर्दै आएको काम व्यवसायीहरूको तर्फबाट समेत गरिनु महत्वपूर्ण रहेको बताए। उनले आगामी दिनमा पनि सम्बन्धित निकाय र व्यवसायीबीच सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रमका सभापति नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, कर्णाली प्रदेशका अध्यक्ष टेक प्रसाद आचार्यले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको बताए। वनभोज कार्यक्रममा सबै खाले पशुपन्छी व्यवसायीलाई सहभागी गराउनुको उद्देश्य आपसी सहकार्य आवश्यक र महत्वपूर्ण छ भन्ने सन्देश दिनु रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय समिति सदस्य पूर्ण प्रसाद जैसी, नेपाल भेटेरिनरी एसोसिएसन कर्णाली प्रदेशका अध्यक्ष डा. उमेश गिरी, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा. मदनमणि सापकोटा, वीरेन्द्रनगर नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख यज्ञ प्रसाद पाण्डे, वीरेन्द्रनगर–१६ का पशु स्वास्थ्य प्राविधिक उत्तम ढकाल तथा पशु अस्पताल तथा पशु सेवा कार्यालय, हुम्लाका प्रमुख डा. नवीन पौडेल विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रम नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, कर्णाली प्रदेशका सचिव यज्ञ प्रसाद आचार्यले सञ्चालन गरेका थिए भने वनभोज कार्यक्रमको संयोजन टिकाराम पङ्गालीले गरेका थिए।

कार्यक्रममा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत; पशु अस्पताल तथा पशु सेवा कार्यालय, सुर्खेत; वीरेन्द्रनगर पशुपन्छी विकास शाखा तथा वीरेन्द्रनगर नगरपालिका–१६ नम्बर वडा कार्यालयको समन्वय रहेको थियो। एसियन फर्मास्युटिकल, क्युमेड फर्मुलेसन, लाइवकेयर फर्मास्युटिकल, फिलियोर हिमालय, इन्डियन हर्ब्स र हिमालय भेटको औषधि सौजन्य रहेको थियो।

आयोजकका अनुसार कार्यक्रमले पशु स्वास्थ्य सेवा विस्तारसँगै पशुपन्छी क्षेत्रका व्यवसायी, प्राविधिक, किसान तथा सम्बन्धित सरकारी निकायबीच सहकार्य र आपसी सद्भाव बढाउन योगदान पुर्याएको छ।


कृषि रैबार । ४ आश्विन २०८३, आईतवार