नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले समस्याको बीचमा शिक्षा मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईको देवत्वकरण नगर्न आग्रह गरेका छन् । भट्टराईले हिजो (सोमबार) पदबाट राजीनामा दिएकी थिईन् । शिक्षकहरु शिक्षा ऐनको माग गर्दै सडकमा उत्रिएको २०औं दिन वितिसक्दा पनि समस्याको समाधान नभएपछि उनले राजीनामा बुझाएकी हुन् । भट्टराईले उच्च नैतिकता प्रदर्शन गरेको भन्दै उनको चौतर्फी प्रशंसा भइरहेको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न प्रकारका आरोप–प्रत्यारोपसमेत सुरु भएको छ । प्रधानमन्त्री ओलीले शिक्षकका समस्या समाधान गर्न नचाहेपछि भट्टराईले बाध्यभएर राजीनामा दिनुपरेको धेरैको बुझाइ रहेको छ ।
शिक्षामन्त्रीको राजीनामालाई लिएर एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको विरोध हुन थालेपछि नेता रिजालले भनेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ भनिन्छ । जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन । यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ । समस्याका बीचमा पद छाड्नुभएकी मन्त्रीको देवत्वकरण गर्ने र उहाँलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक छ ।’
कृषि रैबार । १० बैशाख २०८२, बुधबार