हुम्लाको सिमकोटमा सम्पन्न भयो नमुना युवा गाउँ सभा

हुम्ला । सिमकोट गाउँपालिका हुम्लाको आयोजना र राष्ट्रिय युवा परिषद्को सहयोगमा मिति बैशाख २५ गतेदेखि २८ गतेसम्म ४ दिने नमुना युवा गाउ सभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पालिका भित्रका ८ वटै वडाका १६ देखि २४ वर्ष उमेर समुहका ३० जना युवाहरु सहभागी भएका थिए ।
कार्यक्रमबाट गाउँ सभा , रिडिङ पेपर , नीति तथा कार्यक्रम ,बजेट बक्तब्य ,लोकतन्त्र , युवा नीति , युवा क्लब ,युवा संजाल ,स्थानीय तहमा योजना तर्जुमाका चरणहरु , गाउँ सभा पदाधिकारीहरुको भुमिका , विधेयकहरु ,निर्वाचन प्रक्रिया ,सुचनाको हक , गाउँ सभा संचालन कार्यबिधी ,युवा जीवनमा मार्गदर्शनको महत्त्व , युवाको क्षेत्रमा काम गर्ने विभिन्न निकायहरु सङ्गको भुमिका लगायत बिषयमा प्रशिक्षण दिईएको थियो ।


नमुना युवा गाउँ सभाको लागि अध्यक्षमा प्रतीक्षा परियार ,उपाध्यक्षमा चिन बहादुर शाही र प्रमुख प्रशासकिय अधिकृत (सचिब)को भुमिकामा पारस रावत सर्वसम्मत चयन भएका थिए ।
साथै कार्यक्रमबाट सिमकोट गाउँपालिका स्तरीय युवा क्लब संजाल गठन गरिएको छ । अजय बोहोराको नेतृत्वमा ११ सदस्यीय संजाल निर्माण गरिएको हो ।
भेलाबाट यसै बर्ष कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रमको लागि प्रतीक्षा परियार र चीन बहादुर शाही छनौट भएका छन् । कार्यक्रमको सहजीकरण नेपाल सरकारका उपसचिव कर्ण बहादुर कवर र राष्ट्रिय युवा परिषद्का प्रशिक्षक राजेन्द्र अधिकारीले गरेका थिए ।


कार्यक्रममा उपसचिव कवरले यो कार्यक्रमले युवाहरुको दक्षता, क्षमता, नेतृत्व बिकास र सशक्तीकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने र युवाहरूले स्थानीय शासन प्रक्रियाको बारेमा जानकारी राख्दै स्थानीय सरकारलाई निरन्तर खबरदारी सहितको रचनात्मक सहयोग गर्ने भएकाले अन्य कार्यक्रम भन्दा यो कार्यक्रम पछिल्लो समय युवा पुस्ता माझ लोकप्रिय हुँदै गएको बताए ।
उक्त कार्यक्रमको समापन समारोहमा भगवतीमाई गाउँ युवा परिषद्का कार्यकारी उपाध्यक्ष एवम् राष्ट्रिय युवा परिषद्का प्रशिक्षक राजेन्द्र अधिकारीले स्थानीय युवा परिषद् गठन संबंधित बिधेयकको मस्यौदा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई हस्तान्तरण गरेका थिए ।


कार्यक्रमको समापन समारोहमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी ,उपाध्यक्ष सुशीला रोकाया ,उपसचिव एवम् प्रशिक्षक कर्ण बहादुर कवर ,प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया ,शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख बर्ष फडेरा लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन शिक्षा शाखाका प्राबिधिक सहायक कृष्ण आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया