कृषि रैबार सम्बाददाता, सुर्खेत । सुचना र संचारको क्षेत्रमा पछिल्लो समय धेरै किसिमका स्रोत सामाग्रीहरु प्रयोग हुँदै आइरहेका छन् । क्यामेरा, माइक, कलम, कापी, रेकर्डर संचारकर्मिका लागि नभइ नहुने सामाग्री हुन् । तर हिजो आज क्यामेरालाई बिस्थापित गर्ने ड्रोनहरु सजिलै बजारमा पाइन थालेका छन् भने जोसुकैले पनि बिना कुनै हिचकिचाहट स्वतन्त्रपुर्वक ड्रोनको प्रयोग गरिरहेका छन् । त्यसको गतिलो उदाहरण हेर्न धेरै टाढा काहीँ जानै पर्दैन । पछिल्लो समय वीरेन्द्रनगर बजार क्षेत्र र सुर्खेतका धेरै ठाउँहरुमा छायांकन गरिएका भिडियोहरुले सामाजिक संजालमा गतिलो स्थान लिइरहेको छ ।

ड्रोन आफैमा एउटा सुचना र संचारको महत्त्वपूर्ण साधन हो । यसलाई प्रयोग गर्नका लागि इजाजत लिनु पर्ने र विशेष किसिमका कानुनी प्रावधानहरु पार गर्नु पर्दछ । उडानको फ्रिक्वन्सी अनुमतिका लागि संचार तथा सुचना प्रबिधी मन्त्रालय र उडानका लागि नागरिक उड्यान प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । ड्रोन क्यामेरा उडान गर्दा व्यक्तिगत घरजग्गा माथी, सार्वजनिक इलाका, धार्मिक, सास्कृतिक वैभवका क्षेत्रहरु र महत्त्वपूर्ण पुरातात्त्विक संवेदनशिल क्षेत्रहरुमा उडाउन नपाइने कुरा ड्रोन उडान सम्बन्धी कार्यबिधी २०७५ मा स्पष्ट उल्लेख गरेको छ । तर सुर्खेतमा भने सो कार्यबिधिको धजिया उडाउदै केही मिडियाकर्मी र केही सामाजिक अभियान्ताहरुले सुर्खेतको धार्मिक एवम् पुरातात्त्विक महत्त्व बोकेको काक्रेबिहार, देउती वज्यै मन्दिर, बुलबुले ताल, गढी क्षेत्र र मुख्य बजार क्षेत्रको भिडियोहरु छायांकन गरि सामाजिक संजालमा सार्वजनिक गर्ने गरेका छन् । ड्रोनको प्रयोग गर्दा स्थानिय प्रशासनमा जानकारी गराइ सुरक्षा निकायको रोहवरमा मात्र उडान गर्नुपर्ने र उडान पश्चात् प्राप्त सुचना, फोटो, नक्सा आदि स्थानीय प्रशासनमा पेश गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरेको भएता पनि कहि कतै कसैले सो कुरा पालना गरेको पाइएको छैन । मिडियाकर्मी नै जनप्रतिनिधिको भिडियो ड्रोन मार्फत छायांकन गरि सार्वजनिक गर्ने, एसओएस बाल ग्राम भित्र अध्यन गर्ने विद्यार्थीले ड्रोनको माध्यमबाट खिचिएको बालग्रामको भित्रको भिडियो सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्ने, सार्वजनिक कार्यक्रम, भेला, सभा, समारोहमा ड्रोनको प्रयोग गर्ने, मुख्य बजार क्षेत्र लगायत महत्त्वपूर्ण चोकहरुको भिडियो सार्वजनिक हुँदा समेत स्थानीय प्रशासन मौन बसिरहेको छ ।

सुर्खेतमा हालसम्म ड्रोनका विषयमा सम्बन्धित निकायबाट कुनै ठोस जानकारी नदिएको र ड्रोन उडानका लागि इजाजत लिएका व्यक्ति वा निकायहरुको तथ्यांक नराखिएकाले यो विषय सामान्य रुपमा लिएर ड्रोनको प्रयोग बढिरहेको हुनसक्ने केही ड्रोन प्रयोगकर्ताहरुको धारणा रहेको छ भने जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने कार्यविधि अनुसार ड्रोन सञ्चालन गर्ने अनुमति दिएको बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले सुर्खेतमा भएका अधिकांस ड्रोन सञ्चालकहरुले प्रशासनबाट अनुमति लिएर चलाएको बताए ।

‘ड्रोन उडाउने सम्बन्धी मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि, २०७५ रहेको छ, त्यही अनुरुप ड्रान सञ्चालकहरुले हामीबाट अनुमति लिएर चलाउनु भएको छ, यहाँ भनेको झन संवेदनशिल ठाउँ हो, एयरपोर्ट पनि यही छ, त्यसैले कोही कसैले फाटफुट्ट रुपमा ड्रोन उडाउनुभएको होला, उहाँहरुलाई पनि हामी कारबाही गर्छौ ।’ उनले भने ।
यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक कर्मचारीले कतिपयले अनमुति लिएर चलाएको भएपनि उनीहरुले लिएको अनुमतिको म्याद सकिएको बताए । उनले हामीले निश्चित समय दिएका हुन्छौ, तर उहाँहरुले त्यो समय सकिसकेपछि पनि ड्रोन उडाइरहेका हुन्छन्, कतिपयले त अनुमति नलिएर चलाएको पनि छन्, हामीले छिट्टै सुचना सार्वजनिक गरी उनीहरुलाई अनुमति लिन आग्रह गर्छौ, यदि सुचनाको अवेज्ञा गरे कारबाही गर्छौ ।’ उनले कृषि रैबारसँग भने ।


कृषि रैबार । ३१ श्रावण २०८०, बुधबार