कृषि रैवार सम्बाददाता
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतको मातहतमा रहेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रले आफ्नो वार्षिक कार्यक्रम अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा एग्रोभेट व्यवसाय संचालन गरिरहेका र पशुपन्छीको औषधि विक्रेताको इजाजत नभएका व्यवसायीलाई केन्द्रित गरी संचालन गरेको अभिमुखीकरण तालिमको आज एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । कर्णाली प्रदेशका ७ वटा जिल्लाका विभिन्न पालिकाबाट ३० जना सहभागि भएको उक्त तालिम जेठ २८ देखि असार २९ गते सम्म संचालन गरिएको थियो ।

कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रका प्रमुख पदम बहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशका मन्त्री भिम प्रकाश शर्माको उपस्थिति रहेको थियो । त्यस्तै विशेष अतिथीको रुपमा पशुपन्छी रोग अन्वेषण प्रयोशालाका प्रमुख डा. बिकास श्रेष्ठ रहेका थिए भने अतिथिका रुपमा मन्त्रालयका पशुपन्छी विकास शाखाका प्रमुख प्रचण्ड खड्का, तालिम केन्द्रका यादव केसी, विद्या गौतम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात गर्दै तालिम केन्द्रका प्रमुख पदम बहादुर सुवेदीले तालिम संचालन प्रक्रिया, सहभागी छनौट प्रक्रिया, तालिम संचालन कार्यविधि जस्ता कुरामा केन्द्रित रहेको प्रस्तुति राखेका थिए ।
तालिमका सहभागि मध्यका एक सहभागि ओमदत्त भारतीले विना इजाजत व्यवसाय संचालन गरीरहेका व्यवसायीलाई कानुन सम्बत् बनाउनका लागि यस्तो किसिमको तालिमहरु पटक पटक संचालन गर्नुपर्ने, समय समयमा पुनर्ताजकी तालिमको व्यवस्थापन गनुपर्ने, औषधि व्यवस्था विभागले छिटो भन्दा छिटो लाइसेन्सको परिक्षा लिनका लागि सम्बन्धित निकायले पहल गरिदिनु पर्ने बताए ।

त्यस्तै अर्की सहभागी भिम कुमारी बिसीले तालिमबाट दैनिक जसो व्यवसायका संचालनका क्रममा आवश्यक पर्ने ज्ञानहरु धेरै लिन पाएको र यस तालिमले सिकेका कुराहरु व्यवहारतः लागु गर्नका लागि थप जिम्मेवारी बोध गराएको बताइन् ।

डा. श्रेष्ठ सम्मानित
प्रशिक्षण केन्द्रको आयोजनामा समपन्न भएको उक्त तालिममा पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. बिकास श्रेष्ठ सम्मानित भएका छन् । तालिम अवधि भर प्रशिक्षक व्यवस्थापन सहित सहज रुपमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराए बापत उनलाई सम्मान गरिएको हो ।

कार्यालयको काम सहित प्रदेशमा फैलिरहेको महामारी रोगको समेत उचित व्यवस्थापन गर्दै तालिममा भरपुर समय दिएर तालिम सफल पार्न महत्वपुर्ण भुमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको प्रशिक्षण केन्द्रका प्रमुख सुवेदीले कृषि रैवारलाई जानकारी दिए ।

सम्मान पश्चात् ३–४ वर्ष लगाएर पढ्नु पर्ने कुरा ३० कार्यदिनको अवधिमा सिक्नु कठिन भएकाले प्रशिक्षार्थीले बढि भन्दा बढि मेहनत गर्नुपर्ने बताए । उनले यो तालिम नितान्त पशु स्वास्थ्य प्राविधिक र व्यवसाय संगै सेवासंग जोडिएकाले गम्भिर भएर काम गर्न सल्लाह दिए ।
लाइसेन्सको परिक्षाका लागि पहल गर्नेछौ ः मन्त्री शर्मा

कार्यक्रमका प्रमुख अतिथि एवं भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका मन्त्री भिम प्रकाश शर्माले व्यवसायिको माग अनुरुप संघिय सरकारसंगको समन्वयमा प्राविधिक ज्ञान सहित तालिम संचालन गरिएकाले तत्काल औषधि व्यवस्था विभागले लिने लाइसेन्सको परिक्षाका लागि सम्बन्धित निकायसंग समन्वय गरी आवश्यक पहले गर्ने प्रतिवद्धता व्यक्त गरे । तालिम संचालनका हुने क्रममा निष्पक्ष रुपमा सहभागि छनौट गरिएको भन्ने केहि पक्षका कुरामा केन्द्रित रहदै तालिमसंग सम्बन्धित हरेक कुराहरु निती सम्बत भएको र सवैलाई क्रमिक रुपमा समेटेर तालिम संचालन गर्ने योजना रहेको हुंदा हतारिएर बिरोध नगर्न समेत सवै व्यवसायिलाई अनुरोध गरे ।

तालिमको समापन गर्दै प्रशिक्षण केन्द्र प्रमुख सुवेदीले तालिम सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने सहयोगी सम्पुर्णमा धन्यबाद व्यक्त गर्दै व्यवसायिको सफलताको कामना गरे ।

कार्यक्रम संचालन तालिम संयोजक एवं प्रशिक्षण केन्द्रका पशु विकास अधिकृत कपिल प्रसाद उपाध्यायले गरेका थिए भने कार्यक्रममा प्रशिक्षार्थी सहित करिव ४० जनाको उपस्थिति रहेको थियो ।


कृषि रैबार । २९ असार २०८०, शुक्रबार