तिलागुफा नगरपालिकाले कृषि उत्पादन बृद्धि गर्न वित्तिय पहुँच

कृषकहरुको वित्तीय र व्यावसायिक साक्षरता बढाउन कर्णाली प्रदेशको कालीकोटस्थित तीलागुफा नगरपालिका र आर. एण्ड डी. इनोभेटिभ सोलुसनबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार नगरपालिका र आर. एण्ड डी. इनोभेटिभ सोलुसनले नगरपालिकामा किसान क्रेडिट कार्ड कार्यक्रम र त्यससँग सम्बन्धित परियोजना मार्फत कृषिमा उद्यमशील विकास गर्नका लागि आवश्यक सहकार्य गर्ने छन्।

परियोजना अन्तर्गत कृषि व्यवसायलाई प्रवर्धन गर्न कृषि , मासु तथा दुधजन्य उत्पादन बृद्धि गर्न आवश्यक  मल, बीऊ, कृषि औजार आदि आवश्यक कृषि सामग्री खरिद गर्नका लागि सहज साधन बन्न पुगेको किसान क्रेडिट कार्ड स्थानीय किसान माझ पुर्याइने छ । यसका लागि नगरपालिकाले आवश्यक सहजीकरण गरिदिने कुरा सम्झौतामा उल्लेख छ ।

यसै सम्झौतामा कृषिसम्बन्धी कर्जा लिन इच्छुक कृषकको पहिचान गर्ने  र कृषि कार्डबाट कृषिजन्य कामका लागि मात्र रकम खर्च गर्ने गरी नगरपालिकाले सिफारिस गर्न सक्ने  छ । यसरी सिफारिस भई आएका कृषकहरुलाई व्यवसाय शुरु गर्न वा बृद्धि गर्न आवश्यक कृषि कर्जा बैँकले उपलब्ध गराउने कुरा सम्झौतामा उल्लेख छ । यसरी कर्जा लिएका कृषकलाई वित्तीय र व्यावसायिक साक्षरता र कृषि उद्यमशीलता सम्बन्धी तालिम दिइने पनि सम्ताझौमा उल्लेख छ ।

सम्झौतामा तिलागुफा नगरपालिकाको तर्फबाट नगरप्रमुख शंकरप्रसाद उपाध्याय र आर. एण्ड डी. इनोभेटिभ सोलुसनका तर्फबाट सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अन्तर्गत सञ्चालन हुने कार्यक्रमको मुख्य उद्देश्य कृषकहरुको वित्तीय तथा व्यावसायिक साक्षरता बढाउने, पालिकास्तरमा रहेका सबै कृषकहरूको व्यावसायिक योजना अनुसार उनीहरुलाई सरल र संरक्षित कर्जा उपलब्ध गराउने, कृषकको व्यावसायिक कागजात सबै डिजिटलाइजेसन गर्ने, कृषिमा दीगो विकास गर्न मूल्य सृंखलाका विभिन्न सरोकारवालाहरुलाई जोडने रहेका छन् ।

यसैगरी पालिकास्तरीय कृषि कार्यक्रमहरुलाई लाई डिजिटाइज गर्ने र विद्यतीय कारोबारमा जोडने, स्थानीय तहमार्फत कृषि क्षेत्रको व्यावसायिकीकरणको आधार स्तम्भ तयार पार्ने र सिमित स्रोतबाट पालिकाका सबै कृषकलाई प्राविधिक र कृषि प्रसार सेवा उपलब्ध गराउने उद्देश्य पनि कार्यक्रमको रहेको छ ।

कार्यक्रमबाट पालिकाभरका कृषकको वित्तीय तथा व्यावसायिक साक्षरता बढने, सिमान्तकृत कृषकलाई व्यावसायिक बनाउने वातावरण तयार हुने, सहुलियतपूर्ण कृषि कर्जाको सुनिश्चितता हुने र पालिकामा उत्पादन हुन सक्ने विशिष्ट बाली पहिचान गरी त्यसको उत्पादन विस्तार प्रशोधन, भण्डारण र विक्रि वितरणको स्पष्ट योजना कार्यान्वय हुने जस्ता उपलब्धी हासिल हुने छन् ।

तपाईको प्रतिक्रिया