यतिबेला सारा विश्व शून्य अवस्थामा छ । हरकोही मान्छे कोरोनाको सन्त्रासमा बाँचिरहेको छ । लकडाउनको फुर्सदिलो समयले धेरै मान्छेका धेरै कुरा मज्जैले थाहा पाइएको छ । सामाजिक सञ्जालमा छरपष्ट भएका मान्छेका भित्री कुराहरुले को कति पानीमा? भन्ने पनि देखाइदिएको छ । हुँदा खाने र हुने खाने वर्गको खाडल प्रष्ट देखिँदैछ । टिकटकदेखि फेसबुक स्टोरीसम्म भान्सा, लवाइखवाइ र अनेक कुराले स्थान पाइरहँदा यहाँ कृषिका कुरा पनि जोडतोडले उठिरहेको छ । यतिबेला गाउँमा रहेका, गाउँ फर्केका र फर्कन लागेका युवाहरुमा कृषि आकर्षणको केन्द्र बनेको छ । खेति गर्नेहरुको मनमा पनि यत्ति गरे भोकले मरिँदैन भन्ने परेको छ।
नेपालमा सुरु भएको बन्दाबन्दीको केही समयमै फेसबुकतिर फर्सीका मुन्टा फल्न थालेका थिए । जग्गा नभएकाहरु र सहरमा बस्नेहरुले एउटा भाँडोमा भएपनिभटाभट तरकारी रोप्न थाले। कतै छतमै दुइचारवटा कुखुरा पनि हुर्कन थाले । लकडाउनअघि केही व्यक्तिले मात्र सुरु गरेको यो ट्रेन्ड धेरैले अङ्गाले। यो क्रम अहिले पनि छ। अहिले पनि फेसबुकमा यदाकदा फर्सीका गट्टाको फोटो राखेर क्याप्सनसहित पोखिदैछ गमला कृषिको क्रान्ति। कौशी खेतीप्रति मानिस आकर्षित भएको देख्दा मलाई पनि खुशी लागेको छ किनकी सहरी क्षेत्रमा खेति गर्ने ठाउँको अभाव छ।
कृषि रैबार । २ भाद्र २०७९, बिहीबार