विपत् प्रतिकार्यका लागि पूर्व तयारी बैठकः तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन

सुर्खेत, २८ असार । जिल्ला विपद् व्यवस्थापन समिति सुर्खेतको बैठक बर्षातको समयमा हुन सक्ने विपत् प्रतिकार्यका लागि सम्बन्धित निकायहरुलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले पूर्व तयारी र प्रतिकार्यका लागि तयारी सडक, विद्युत, वन तथा स्थानीय सरकारहरुलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।
वर्षातको समयमा राजमार्ग अवरुद्ध हुन सक्ने हुँदा सवारी सञ्चालनमा नियमितता ल्याउन डिभिजन सडक कार्यालय, सुर्खेतले राजमार्गका विभिन्न स्थानमा डोजर, लोडर, स्काभेटरजस्ता भारी यन्त्र उपकरण परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्ने र चालकको नाम, सम्पर्क नंम्बर समेत जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने । साथै, सबै स्थानीय तहहरुलाई समेत सोही अनुसार तयारी अवस्थामा रहन जानकारी गराउने बैठकले निर्णय गरेको हो ।
बैठकले यस बर्षको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना दशौं अद्यावधिकको अनुमोदन गरेको छ । उक्त बैठकमा जिल्ला समन्वय प्रमुख, जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य कार्यालय÷संघ÷संस्थाहरु, विषयगत क्षेत्रसँग सम्बन्धित कार्यालयका प्रमुख, पत्रकार लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागता रहेको थियो ।
मनसूनजन्य विपद्को लागि पूर्णतयारी अवस्थामा रहने, यस बर्षको बर्षायाम शुरु भइसकेकोले सोको पूर्वतयारीका लागि निर्माण गरिएको मनसून पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले प्राकृतिक विपत् जुनसुकै बेला पनि आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सबैलाई आग्रह गर्नुभयो । विगतको अनुभवले पनि सुर्खेत प्राकृतिक विपतको उच्च जोखिममा रहेको उल्लेख गर्दै उहाँले स्थानीय सरकारले पनि गम्भिर रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रिजालले स्थानीय तह र सम्बन्धित कार्यालयहरुको सहकार्यमा स्रोत साधनहरुको परिचालन गरेर मात्रै भविष्यमा आउन सक्ने विपतलाई व्यवस्थापन गर्न सकिने बताउनुभयो । बैठकमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रमुख र सुरक्षा निकायका प्रमुख, पत्रकार, गैरसरकारी संस्था लगायतको सहभागिता रहेको थियो ।

हेर्नुहोस्, निर्णयहरुः

तपाईको प्रतिक्रिया